प्लेयर अफ द म्याच रश्मि कुमारी घिसिङलाई पुरस्कृत गरिँदै ।

हेटौँडा : सशस्त्र प्रहरी बलको एपीएफले मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा बीरगंज युथ स्पोट्र्स एकेडेमी विरुद्ध १२ गोल गरेको छ । एपीएफले १२ गोल गर्दै वीरगन्ज माथि एकतर्फी जीत निकालेको हो ।

सोमबार हेटौंडा–६ स्थित गौरीटार रंगशालामा भएको खेलमा एपीएफले वीरगन्जविरुद्ध पहिलो हाफमा ५ र दोस्रो हाफमा ७ गोल गरेको हो । एपीएफको जीतमा रश्मि कुमारी घिसिङले उत्कृष्ट प्रदर्शन गरिन् । खेल अवधीभर उनले वीरगन्जविरुद्ध ५ गोल गरिन् । उनले खेलको २३, ४९ र ६९ औं मिनेटमा ह्याट्रिक पूरा गरिन् भने ७० औं र ७८ औं मिनेटमा थप गोल गरिन् ।

खेलमा सरु लिम्बुले १९ औं मिनेटमा पहिलो गोल गर्दै एपीएफलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । खेलको २५ औं मिनेट अनिता केसी, ३५ औं मिनेटमा पुनः सरु लिम्बुले, ३९ औं मिनेटमा अनिता बस्नेत, ४५ औं मिनेटमा मन्जली योन्जन, ५१ औं मिनेटमा सजनी थोकर र ७३ औं मिनेटमा सविता रानाले गोल गरिन् । प्लेयर अफ द म्याच रश्मि घोषित भइन् । उनले १० हजार रुपैयाँ प्राप्त गरिन् ।

एपीएफ सेमिफाइनलमा प्रवेश गरेसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । अब एपीएफले मंगलबार नै संकटासँग खेल्नेछ । यसअघि सिमराको नवजनजागृति युवा क्लबलाई ६–१ फराकिलो गोलअन्तरले हराउँदै संकटा सेमिफाइनल प्रवेश गरेको थियो । मंगलबारको पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लब र चितवनबीच बिहान ८ः३० बजे प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको फाइनल खेल बिहीबार हुनेछ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।