हेटौँडा : हेटौँडा अस्पतालको बोर्ड मेटाएको अभियोगमा मकवानपुर प्रहरीले पक्राउ गरेका ६ जनै थुनामुक्त भएका छन् । हेटौँडा अस्पतालको बोर्ड मेटाएको अभियोगमा पक्राउ परेका हेटौँडा–५ का विशालराज महत, हेटौँडा–४ का सुनिल गिरी, हेटौँडा–६ का सफल अधिकारी, मकवानपुरगढी–५ का राजकुमार घिमिरे, अस्मित अधिकारी र समुन्द्र दाहाल शुक्रबार प्रमुख जिल्ला अधिकारीको आदेशमा थुनामुक्त भएका हुन् ।

प्रमुख जिल्ला अधिकारीले जनही १ हजार रुपैयाँ जरिवाना तिराएर थुनामुक्त गर्न आदेश दिनुभएपछि थुनामुक्त गरिएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारीले १ हजार रुपैयाँ जरिवानाको आदेश दिनु भए पनि ६ जनाले जनही ७ सय जरिवाना तिरेर थुनामुक्त भएका हुन् । एक रात हिरासतमा बसेवापत ३ सय रुपैयाँ जरिवाना कट्टा हुने व्यवस्थाअनुसार जनही ७ सय रुपैयाँ जरिवाना लिइएको प्रवक्ता अर्यालले जानकारी दिनुभयो ।

उनीहरु बिहीबार आफैं प्रहरीको सम्पर्कमा आएका थिए । गत आइतबार बिहान साढे १० बजेको समयमा हेटौँडा अस्पतालको बोर्डमा मदन भण्डारी प्रतिष्ठानको नाम मेटाएको थियो । साविक जिल्ला अस्पतालको रुपमा सञ्चालित हेटौँडा अस्पताल संघीयता कार्यान्वयनमा आएपछि बागमती प्रदेश सरकार मातहतको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत राख्ने निर्णय भएको थियो । प्रतिष्ठान मातहत रहने गरी हेटौँडा अस्पताललाई आगामी दिनमा शिक्षण अस्पतालको रुपमा विकसित गर्ने योजनासहित भौतिक पूर्वाधार विकास, सेवा विस्तार लगायतको कार्य भइरहँदा हेटौँडा अस्पताल र प्रतिष्ठानलाई अलग गर्नुपर्ने भन्दै राजनीतिक दल, भातृ संगठनसहित विभिन्न समूहले बेला–बेलामा आवाज उठाउँदै आएका छन् ।

गत आइतबार भने अस्पतालको बोर्डमा उल्लेख भएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट मदन भण्डारी मेटाउने काम गरिएको थियो । यस्तै मदन भण्डारीको ठाउँमा हेटौँडा अस्पताल लेखिएको फ्लेक्स टाँसिएको थियो । सरकारी सम्पत्तिमा बलजफती गरी नाम मेटाउने कार्य गरेको भन्दै मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले घटनामा संलग्नलाई पक्राउ गरी कारवाही अगाडि बढाउन प्रहरीलाई निर्देशन दिनुभएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।