हेटौँडा : लागूऔषध गाँजासहित मकवानपुरका ३ जना बारा जिल्लाबाट पक्राउ परेका छन् । बिहीबार राती ११ बजेर ४५ मिनेटको समयमा हेटौँडाबाट बीरगन्जतर्फ जाँदै गरेको ना ५ ख २५०४ नम्बरको मिनी ट्रकलाई बजनीमा रोकी सुरक्षाजाँच गर्दा ३ सय ९ किलो लागूऔषध गाँजा बरामद भएको बारा प्रहरीले जनाएको छ ।
प्रहरीले ट्रक चालक मकवानपुरको कैलाश गाउँपालिका–४ का ३२ वर्षीय राजन लामा, ट्रकमा सवार कैलाश–१० का २७ वर्षीय जीवन थोकर र हेटौँडा–३ का ३३ वर्षीय इश्वर लोप्चनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा प्रहरीले लागूऔषध गाँजा नियन्त्रणमा लिन सफल भएको जनाएको छ ।
यस्तै विशेष सूचनाकै आधारमा बारा प्रहरीले बिहीबार बिहान ८ बजेर ३० मिनेटको समयमा ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोलीले प्रसौनी गाउँपालिका–४, खुटवाका ३१ वर्षीय पवन कुमार साहको घरबाट लागूऔषध गाँजा २ किलो १४० ग्राम बरामद गरेको छ । साहले लागूऔषध गाँजा विक्री–वितरण गर्ने गरेको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो ।
यसैगरी विशेष सूचनाको आधारमा शुक्रबार बिहान २ बजेर ३० मिनेटको समयमा ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले बारा जिल्लाको पचरौता नगरपालिका–१, मुसहरीटोलमा मकै बारी हुँदै भारत तर्फ निकासी गर्दै गरेको अवस्थामा ६० किलो लागूऔषध गाँजासहित भारतको बिहार प्रान्तअन्तर्गत मोतिहारी जिल्लाका २५ वर्षीय राजबिहारी कुमारलाई नियन्त्रणमा लिएको छ ।