हेटौँडा: मकवानपुरमा गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । कान्तिलोकपथअन्तर्गत मकवानपुरगढी गाउँपालिका-२, धरमपानीमा शुक्रबार राति १ बजेको समयमा इभी गाडी दुर्घटना हुँदा २ जना महिलाको मृत्यु भएको हो ।
काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको बा प्र ०१-००६ ख ७०७२ नम्बरको यात्रुबाहक इभी माइक्रो गाडी सडकबाट करिव २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। गाडीमा चालकसहित १६ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
उहाँका अनुसार दुर्घटनामा सर्लाही बागमती-७ की १३ वर्षीया मानुसी मगरको घटनास्थल नजिकै मृत फेला परेकी थिइन् भने रौतहट जिल्लाको दुर्गा भवानीपुर गाउँपालिका-५ निवासी ५० वर्षीया निलम देवी राउतको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा रौतहट दुर्गा भवानिपुर- ५ बस्ने वर्ष ५५ को राम प्रकाश राउत, सर्लाही बरहथहवा- ८ बस्ने वर्ष ५२ को शिवशंकर राय, सोही स्थान बस्ने वर्ष ४५ की रिकिदेवी राय, बरहथवा-९ बस्ने वर्ष २७ को मनोज राय घाइते भएका छन् । उनीहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रवक्ता अर्यालले बताउनुभयो ।
त्यस्तै सर्लाही हरिहरपुर-१ बस्ने वर्ष २७ को नवराज मगर, सोही स्थान बस्ने वर्ष १६ की प्रियंका मगर, वर्ष १५ को सृजन मगर, वर्ष ४० की जमुना मगर, वर्ष १९ को सुदिप रिसाल, विष्णुपुर-३ मधुवनगोठ बस्ने वर्ष २७ को देवराज कुमार साह, सोही स्थान बस्ने वर्ष ४२ की किसुनव्रर्ती साह, बागमती-७ बस्ने वर्ष १६ की युनिका दर्लामी मगर, महोत्तरी गौशाला-५ बस्ने वर्ष १६ को आदित्य छोरचंगी मगर दुर्घटनामा घाइते भइ हाल मकवानपुर सहकारी अस्पतालमा उपचाररत छन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार गाडीमा यात्रु संख्या क्षमताभन्दा बढी रहेको र सडकबाट गाडी अनियन्त्रित भई खसेको हुनसक्ने अनुमान गरिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।