नेपालमा प्रत्येक वर्ष बैशाख महिनाको पहिलो हप्तालाई वन्यजन्तु सप्ताहको रुपमा मनाउने गरिएको छ । बैशाख १ गतेदेखि ७ गतेसम्म विविध कार्यक्रम गरेर राष्ट्रिय वन्यजन्तु सप्ताह मनाइन्छ । ‘बुझौँ वन्यजन्तुको आनीबानी, घटाऔँ मानवसँगको द्वन्द्व र हानि नोक्सानी’ भन्ने नाराका साथ यस वर्ष ३० औँ राष्ट्रिय वन्यजन्तु सप्ताह मनाइँदैछ । वन्यजन्तु एवम् जैविक विविधताको महत्वबारे जनचेतना अभिवृद्धि गर्दै यसको संरक्षण र दिगो उपयोगमा सहयोग पुर्याउने उद्देश्यले वन्यजन्तु सप्ताह मनाउन थालिएको हो । वन्यजन्तु तथा वनस्पतिको संरक्षणसँगै अवैध व्यापारलाई निरुत्साहित गर्न वन्यजन्तु सप्ताह सहयोगी भइरहेको छ । जैविक विविधतामा निकै धनी रहेको नेपालमा विविध प्रकारका वनस्पति र वन्यजन्तु पाइन्छ । भौगर्भिक र हावापानीमा रहेको विविधताका कारण नेपाल जैविक विविधताको दृष्टिले समुन्नत देश रहेको छ ।

हेटौंडामा पनि विविध कार्यक्रम गरेर वन्यजन्तु सप्ताह मनाइँदैछ । हेटौंडामा रहेको त्रिभुवन विश्वविद्यालय अन्तर्गतको वन विज्ञान अध्ययन संस्थानको हेटौंडा क्याम्पस र कृषि तथा वन विश्वविद्यालयको वन विज्ञान संकायका विद्यार्थीले विभिन्न कार्यक्रम गरेर वन्यजन्तु सप्ताह मनाइरहेका हुन् । सप्ताहको अवसरमा सोमबार दुबै क्याम्पसका विद्यार्थीले क्याम्पस परिसरमा सरसफाई गरेका छन् । सप्ताहको पहिलो दिन क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले नयाँ वर्षको शुभकामना आदानप्रदान गर्दै क्याम्पस वरपरका स्थानहरुमा सरसफाई गरेका छन् । बैशाख ७ गतेसम्म समुदायस्तरमा वन्यजन्तु संरक्षणका लागि जनचेतना जगाउने कार्यक्रम गरेर वन्यजन्तु सप्ताह मनाउने बताइएको छ । वन्यजन्तु सप्ताहको अवसरमा वन र वन्यजन्तुसम्बन्धी नाटक प्रदर्शन, वन्यजन्तुसम्बन्धी सरोकारवालासँग अन्तरक्रिया, वन डँढेलोसम्बन्धी तालिम प्रदान गरिनेछ ।

नेपालमा पाइने वन्यजन्तु, वनस्पति र जैविक विविधता तथा तिनको समग्र पारिस्थितिक प्रणालीको संरक्षण, व्यवस्थापन र सदुपयोग गर्नु आवश्यक छ । यसका लागि सरकारी तथा गैरसरकारी स्तरबाट विभिन्न प्रयासहरु पनि भइरहेका छन् । नेपालमा रहेका विभिन्न वनस्पति, वन्यजन्तु, भू–दृश्यहरुको संरक्षण, सम्बद्र्धन तथा व्यवस्थापन गर्ने उद्देश्यले विभिन्न प्रकारका संरक्षित क्षेत्रहरु स्थापना भएका छन् । हिमाली तथा उच्च पहाडी भूभागदेखि तराईका मैदानी भागसम्म देशका सबैजसो पारिस्थितिकीय प्रणालीलाई समेटेर संरक्षित क्षेत्रहरु घोषणा गरिएका छन् । हाल नेपालमा १२ वटा राष्ट्रिय निकुञ्ज, एउटा वन्यजन्तु आरक्ष, एउटा शिकार आरक्ष, ६ वटा सरंक्षण क्षेत्र तथा १३ मध्यवर्ती क्षेत्र घोषणा गरेर वन तथा वन्यजन्तुको संरक्षण र व्यवस्थापन भइरहेको छ । नेपालको कुल क्षेत्रफलमध्ये करिब ४५ प्रतिशत वन क्षेत्र रहेको छ । कुल वन क्षेत्रको आधाभन्दा बढी भू–भाग यी संंरक्षित क्षेत्रहरुले ओगटेको छ ।

जलवायु परिवर्तनका कारण विश्वव्यापीरुपमा बढ्दै गएको तापमान वृद्धिले जीवजन्तु तथा वनस्पतिलाई निकै असर पुगिरहेको छ । विगतमा वनस्पति तथा वन्यजन्तु संरक्षणमा पर्याप्त ध्यान नदिएका कारण नेपाललगायत विश्वभरबाट कयौं प्रजातिका जीवहरुको अस्तित्व समाप्त भइसकेको छ । पछिल्लो समयमा वन्यजन्तु संरक्षणमा गरिएका प्रयासले धेरै हदसम्म सफलता हासिल गरेको छ । कतिपय दुर्लभ वन्यजन्तुको संख्या वृद्धि हुँदै जाँदा मानव–वन्यजन्तु द्वन्द्वको खतरा बढेको छ । बढ्दो बस्ती विकास तथा शहरीकरण, औद्योगिकीकरण, जनसंख्या वृद्धि, बसाइँसराई, चोरी शिकारी र तस्करीले कतिपय वनस्पति तथा वन्यजन्तु संरक्षणमा चुनौती बढाएको छ । आम मानिसमा चेतना र पर्याप्त कानुनी व्यवस्थाको कमीका साथै भएका कानुनको पनि प्रभावकारी कार्यान्वयन नहुँदा वन्यजन्तु संरक्षणमा देखिएको चुनौती कम गर्न वन्यजन्तु सप्ताह सहयोगी बन्नुपर्छ । पर्यावरण सन्तुलन, जैविक विविधता र सांस्कृतिक आधारको रुपमा रहेको वनस्पति तथा वन्यजन्तु संरक्षणले अध्ययन, अनुसन्धान तथा पर्यटन व्यवसायमा समेत टेवा पुग्ने भएकाले यसको संरक्षण र दिगो उपयोगका लागि राज्यको विशेष ध्यान पुग्नु आवश्यक छ ।