हेटौँडा : २० वर्ष भन्दा कम उमेर समूहका १७ जना गर्भवतीले फागुन महिनामा हेटौँडा अस्पतालमा बच्चा जन्माएका छन् । फागुन महिनामा २ सय ३८ जना गर्भवतीको प्रसुती गराउँदा हेटौंडा अस्पतालमा १७ जना गर्भवती २० वर्ष भन्दा कम उमेरको पाइएको हेटौँडा अस्पतालको मेडिकल रेकर्डर सफलचन्द्र कँडेलले जानकारी दिनुभयो ।

फागुन महिनामा ७ जना गर्भवतीको जटिल शल्यक्रिया गराइएको थियो भने सामान्य अवस्थामा १ सय ५२ जना गर्भवतीले सन्तान जन्माएको अस्पतालले जानकारी दिएको छ । शल्यक्रिया मार्फत ७९ जनाको प्रसुती गराइएको कँडेलले जानकारी दिनुभयो । हेटौंडा अस्पतालको प्रसुती वार्डकी इन्चार्ज देवकी खतिवडाले २० वर्ष भन्दा कम उमेरका गर्भवतीले शिशुलाई जन्म दिएपनि जटिल समस्या नरहेको जानकारी दिनुभयो । मकवानपुर जिल्लाको मात्र नभई बाहिरी जिल्लाबाट समेत हेटौँडा अस्पतालमा प्रसुती सेवा लिन सेवाग्राही आउने गरेका छन् ।

यसअघि माघमा २१ जना, पुस महिनामा २१ जना २० वर्ष भन्दा कम उमेरका गर्भवती आमा बनेका थिए । मंसिर महिनामा २२ जना, कात्तिकमा २३ जना किशोरी आमा बनेका थिए । चालु आर्थिक वर्षको साउन महिनामा २६ जना, भदौमा १९ जना र असोजमा १२ जना किशोरी आमा बनेका थिए ।