हेटौँडा : आइतबार बिहान हेटौँडा अस्पतालको नाम मेटाउनेलाई पक्राउ गर्न आदेश दिएको २४ घण्टा बितिसक्दा पनि प्रहरीले उनीहरुलाई पक्राउ गर्न सकेको छैन । प्रमुख जिल्ला अधिकारीले पक्राउ गर्न आदेश दिए पनि प्रहरीले भने पक्राउ गर्न सकेको छैन ।
मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले हेटौँडा अस्पतालको बोर्ड मेटाउनेहरुलाई पक्राउ गर्न प्रहरी सक्रिय रुपमा लागेको जानकारी गराउनुहुँदै छिट्टै पक्राउ पर्ने दावी समेत गर्नुभयो । स्थानीय प्रशासनले यो घटनालाई गम्भीर रुपमा लिएको उल्लेख गर्नुहुँदै दोषी उपर कानूनबमोजिम कारवाही हुने प्रजिअ श्रेष्ठले स्पष्ट पार्नुभएको छ ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ‘ग’ मा सरकारी, सार्वजनिक वा व्यक्तिगत सवारी साधन वा सम्पत्ति तोडफोड, आगजनी वा लुटपाट गरी क्षति पुर्याउन नहुने र त्यस्तो कार्य गरेमा प्रमुख जिल्ला अधिकारीले त्यस्तो व्यक्तिलाई कसुरको प्रकृति हेरी १० हजार रुपियाँसम्म जरिवाना वा ६ महिना कैद वा दुवै सजाय गर्न सक्ने प्रावधान रहेको छ । यसै गरी सोही ऐनमा हानि नोक्सानीको विगो असुल गरी बिगोबमोजिम जरिवाना गर्न सक्ने कानुनी व्यवस्था रहेको छ ।
संविधानको धारा ४८ मा नागरिकको कर्तव्य अन्तर्गत सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने दायित्व नागरिकको समेत हुने व्यवस्था गरिएको छ । जनताको करबाट उठेको राजस्वबाट खरिद गरिएका सरकारी सम्पत्तिमाथि तोडफोड गर्ने कार्यले जनताकै अवमूल्यन गर्ने गृह प्रशासनको भनाइ छ ।