हेटौँडा : हेटौँडामा शनिबार एकसाथ तीन कृति विमोचन गरिएको छ । २४ औं नियमित मुक्तक वाचन शृङ्खलाको अवसरमा मुक्तक संग्रह विमोचन गरिएको हो । मुक्तककार किशन पौडेलको ‘अन्तध्र्वनि’, दिनेशकुमार शर्माको ‘बन्द ढोकाको चित्कार’, राजबाबु पहाडीको ‘गल्छेडाका धुनहरु’ मुक्तक संग्रह विमोचन गरिएको हो ।
शर्माको ‘बन्द ढोकाको चित्कार’ मुक्तक संग्रहमा ७२ पृष्ठमा एक सय २४ वटा मुक्तक रहेका छन् । शर्मा हेटौँडा–४, हुप्रचौर निवासी हुनुहुन्छ । राष्ट्रिय वाणिज्य बैंकबाट सेवानिवृत्त अधिकृत शर्माको ‘एउटा मृत्यु यो पनि’ (कविता संग्रह-२०७७) प्रकाशित छ । यसैगरी हेटौँडा–४ निवासी किशन पौडेलको ‘अन्तध्र्वनि’ मुक्तक संग्रहमा ६४ पृष्ठमा १ सय ७ वटा मुक्तक रहेका छन् । यसअघि उहाँको ‘कहर’ (गजल संग्रह–२०७७), ‘खुसी’ (लघुकथा संग्रह-२०७९), ‘अन्तर्दृष्टि’ (हिन्दी भाषामा लघुकथा संग्रह–२०८०), संयुक्त विश्व अनुदित वङ्गला भाषा (लघुकथा संग्रह–२०७८), अभिव्यञ्जना (संयुक्त कविता संग्रह–२०७९), ‘हैसियत÷मेहफिल ए गजल’ (संयुक्त गजलसंग्रह) प्रकाशित छन् । सातौं कृतिका रुपमा उहाँले अन्तध्र्वनि मुक्तक संग्रह विमोचन गर्नुभएको हो । पौडेलको कवितासंग्रह प्रकाशोन्मुख छ । राजबाबु पहाडीका ‘गल्छेडाका धुनहरु’ ६४ पृष्ठको छ ।
झरना साहित्यिक परिवार मकवानपुरका निवर्तमान अध्यक्ष दीपक गौतमले ‘बन्द ढोकाको चित्कार’ मुक्तक संग्रहमाथि समीक्षा गर्नुभएको थियो । मुक्तक मञ्च मकवानपुरका निवर्तमान अध्यक्ष डिबी बर्तौलाले ‘अन्तध्र्वनि’ मुक्तक संग्रहमाथि समीक्षा गर्नुभयो भने प्रगतिशील लेखक संघ बागमती प्रदेशकी अध्यक्ष शान्ति प्रियवन्दनाले ‘गल्छेडाका धुनहरु’ मुक्तक संग्रहमाथि समीक्षा गर्नुभएको थियो ।
यसैबीच रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका निवासी रमेश समर्थनलाई हरिकृष्ण काफ्ले मुक्तक सम्मान–२०८१ बाट सम्मान गरिएको छ । चितवन जिल्लाको भरतपुर महानगरपालिका निवासी बिमला अधिकारी देवकोटालाई तारा स्मृति मुक्तक सम्मान–२०८१ बाट सम्मान गरिएको छ । रमेशलाई १० हजार रुपैयाँ र बिमलालाई ७ हजार ५ सय रुपैयाँ राशिसहित सम्मान गरिएको हो । मुक्तक मञ्च मकवानपुरका अध्यक्ष सागर तिमल्सिनाको अध्यक्षता तथा मुक्तककार हरिकृष्ण काफ्लेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।