हेटौँडा : नयाँ वर्षको अवसरमा हेटौँडा–६, चौघडामा भएको जिल्लास्तरीय ५ किलोमिटर खुल्ला शुभकामना दौड प्रतियोगिताको उपाधि बकैया गाउँपालिका–५ का राजकुमार गोलेले जितेका छन् । सोमबार तरुण दल हेटौँडा ६ नम्बर वडा इकाईको आयोजनामा भएको प्रतियोगिताको निर्धारित दूरी १५ मिनेट ११ सेकेण्डमा पूरा गर्दै गोलेले उपाधि जितेका हुन् ।
यस्तै थाहा नगरपालिकाका विजन सुनार र राक्सिराङ गाउँपालिकाका सुवास हेम्जन क्रमशः द्वितीय र तृतीय भए । द्वितीय भएका सुनारले निर्धारित दूरी १५ मिनेट ३५ सेकेण्डमा र तृतीय हुने हेम्जनले १६ मिनेट १६ सेकेण्डमा पूरा गरे । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १५ हजार, १० हजार र ५ हजारसहित सिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा सहभागी महिलातर्फ हेटौँडा–१३ की साधना लोप्चन र हेटौँडा १३ कै सविना मगर प्रथम र द्वितीय भए । उनीहरुलाई प्रोत्साहन स्वरुप क्रमशः एक हजार र पाँच सय रुपैयाँ प्रदान गरिएको नेपाल तरुण दल हेटौँडा ६ का पूर्वअध्यक्ष राजकुमार बास्तोलाले जानकारी दिनुभयो । तरुण दल हेटौँडा ६ नम्बर वडा अध्यक्ष कमल कोइरालाको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, सचिव भीमसेन महत, सहसचिव इन्दिरा न्यौपाने, नगर सभापति उत्सव इटेनी, हेटौँडा–६ का वडा अध्यक्ष विष्णुबहादुर दाहाल, हेटौंडा–७ का वडा अध्यक्ष दामोदर गौतम लगायतले प्रथम, द्वितीय र तृतीय भएकाहरुलाई नगद पुरस्कार सहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
प्रतियोगिता आयोजनाका लागि नेपाल एथ्लेटिक्स संघ मकवानपुरले प्राविधिक सहयोग गरेको थियो । तरुण दलले हरेक वर्ष नयाँ वर्षको अवसरमा शुभकामना खुल्ला दौड प्रतियोगिता गर्दै आएको छ ।