हेटौँडाः सिविन बाल हेल्पलाइन मकवानपुरले अनलाइनमा बालबालिका संरक्षणको सवालमा अन्तरक्रिया गरेको छ । बिहीबार हेटौँडामा सरोकारवाला निकायबीच अन्तरक्रिया गरेको हो । अन्तरक्रियामा स्थानीय सरकारका अधिकारी, नेपाल प्रहरी, गैससकर्मी, बालबालिका, शिक्षक, पत्रकारको सहभागिता रहेको थियो ।
अनलाइनमा बालबालिका संरक्षणका लागि सरोकारवालाको समन्वयकारी भूमिका आवश्यक रहेको निष्कर्ष निकालिएको छ । सिविन बाल हेल्पलाइन मकवानपुरका प्रबन्धक झबिन्द्र ज्ञवालीको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । सिविन बाल हेल्पलाइनका कार्यक्रम संयोजक माधव लोहनीले अनलाइनमा बालबालिका संरक्षणको सवालमा सहजीकरण गर्नुभएको थियो । पितृसत्तामक सोच, बालबालिका र अभिभावकबीच अनलाइन ज्ञानमा व्यापक खाडल रहेको, बालबालिकाको अनलाइन सुरक्षा सम्बन्धी शिक्षा र पाठ्यक्रमको अभाव रहेको, सरोकारवालाबीच बालबालिकाको अनलाइन सुरक्षासँग सम्बन्धित मुद्दामा गम्भिरताको कमिले गर्दा बालबालिकाको अनलाइन सुरक्षामा चुनौति देखिएको उहाँले जानकारी दिनुभयो । यस्तै भाइबर बाहेक विश्वव्यापी रुपमा प्रयोग गरिने सामाजिक सञ्जालहरु नेपालमा दर्ता भएका छैनन् र नेपालको कानुनअनुसार नियमित हुने पनि गरेको छैन जसका कारण उनीहरु अनलाइनमा बाल संरक्षणसम्बन्धी आफ्नो जिम्मेवारीबाट टाढा रहने गरेका छन् ।
विद्यालय तहमा अनलाइनमा बालसंरक्षणसम्बन्धी पाठ्यक्रमको अभावमा बालबालिकालाई विद्यालयमा इन्टरनेटको सुरक्षित प्रयोग र अनलाइन जोखिमबारे जानकारीको अभाव, साइबर ब्यूरोमा बालबालिकाका विषयलाई गम्भिरताका साथ हेर्नका लागि बालबालिकाको विशेष इकाईहरु नहुनु चुनौतिको विषय भएको उहाँले बताउनुभयो । आमाबाबु र बालबालिकाहरु सामान्यतया अनलाइनबाट भोग्नु परेको समस्याको उजुरी दर्ता गर्न प्रहरीमा जाँदैनन् र अन्य मनोसामाजिक सहयोग पनि लिँदैनन्, साइबर अपराध विशिष्टीकृत विषय भएकाले बालबालिकामाथि भएका अनलाइन बालयौन शोषणका घटनाहरुमा न्याय निरुपणमा व्याप्त जटिलता रहेको संयोजक लोहनीले जानकारी दिनुभयो । जसले गर्दा ती घटना हुन नदिन अभिभावक, विद्यालय, समाज र सरकारबीच समन्वयकारी भूमिका आवश्यक रहेको उहाँको भनाई छ ।