हेटौँडा : हेटौंडा–१३, वनस्पतीस्थित युगचेतना माध्यमिक विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । बिहीबार विद्यालय परिसरमा विभिन्न साँस्कृतिक कार्यक्रमको आयोजना गरी २८ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो ।
विद्यालयका व्यवस्थापक तेजकुमार स्याङ्तानको सभाध्यक्ष तथा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यमा वार्षिकोत्सव समारोह भएको हो । वार्षिकोत्सव समारोहमा वडाध्यक्ष पेम्बा लामाको पनि आतिथ्य रहेको थियो । कार्यक्रममा उत्कृष्ट शिक्षक प्रियंका बढुवाललाई नगद र प्रमाणपत्रसहित सम्मान गरिएको छ । विद्यालय प्रथम हुने विद्यार्थी, नियमित विद्यालय उपस्थित हुने विद्यार्थी, विद्यालय पोसाकमा आउने र कक्षागत प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई शौक्षिक सामग्रीसहित पुरस्कृत गरिएको छ ।
मकवानपुर होटल संघका अध्यक्ष दिलिश गोविन्द जोशीले १ सय जना विद्यार्थीहरुलाई विद्यालय पोशाक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । मकवानपुर होटल संघका कोषाध्यक्ष रविन लामा, सहकोषाध्यक्ष सुरेश लामा र सदस्यहरु सजिव लामा, सन्तोष गौतम, पाल्सन लामा, वङ्चाङ थिङ लामाले प्रतिव्यक्ति ५० जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
विद्यालयले आउँदो बैशाख २ गतेबाट भर्ना अभियान सुरु गर्ने जनाएको छ । यस वर्षबाट अङ्ग्रेजी र नेपाली दुबै माध्यमबाट पठनपाठन संचालन गर्ने तयारी गरेको छ । कक्षा ८ को नतिजामा शत–प्रतिशत विद्यार्थी उत्तीर्णा भएका छन् भने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा १७ जना विद्यार्थीहरु सहभागी भएको विद्यालयका प्रधानाध्यापक शंकर बहादुर थिङले जानकारी दिनुभयो । विद्यालयमा ४ सय जना विद्यार्थी अध्ययनरत छन् ।