वनस्पति दिवसको अवसरमा वृद्धरोपण गरिँदै ।

हेटौँडा : वनस्पति विभागको ६५ औ वार्षिकोत्सव तथा २६ औं वनस्पति दिवसको अवसर पारेर हेटौँडा–१३ स्थित वनस्पति कार्यालयले अंजिर बाटिका बनाएको छ । अंजिर वर्गका १२ प्रजातिका बिरवा रोपेर शुक्रबार बिहान अंजिर बाटिका निर्माण गरिएको वनस्पति कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख हेमराज पौडेल, वडाध्यक्ष पेम्बा लामाको उपस्थितिमा अंजिरसहित वर, टिमिला, स्वामी, रबर, काब्रो, डुम्री, पिपल, बेडुलो, खन्यूका बिरुवा रोपिएको छ । कार्यालय परिसरमै तयार पारिएको अंजिर बाटिकामा नेपालमा पाइने अंजिर वर्गका सबै ३६ प्रजाति संकलन गरी रोपिने वनस्पति कार्यालयका युगल अर्यालले जानकारी दिनुभयो ।

पर्यटकीय दृष्टिकोणले समेत विकसित हुँदै आएको वनस्पति कार्यालयमा दैनिक जसो पर्यटकले भ्रमण गर्ने गरेका छन् । सामान्य दिनमा ४० देखि ५० जना सर्वसाधारणको उपस्थिति रहने वनस्पति कार्यालयमा सार्वजनिक बिदाको दिन २ सय भन्दा बढीको उपस्थिति रहने गरेको छ । विद्यालय, क्याम्पस तथा वनस्पति शास्त्रकै विद्यार्थीका लागि अध्ययन, अवलोकनका लागि पनि आकर्षक गन्तव्यको रुपमा वनस्पति कार्यालयलाई विकास गरिएको छ ।