हेटौंडा : मकवानपुरको मनहरी, बकैया, मकवानपुरगढी र हेटौँडा उपमहानगरपालिका बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा भइसकेका छन् । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्दै बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गरियो । तर बालबालिकालाई जोखिमपूर्ण श्रममा लगाउने कार्य भने रोक्न सकेको छैन ।
श्रम तथा रोजगार कार्यालय बागमती प्रदेश हेटौँडाले चालु आर्थिक वर्ष २०८१/८२ पुस मसान्तसम्ममा श्रममा रहेका १२ बालश्रमिकलाई उद्दार गरेर अभिभावकको जिम्मा लगाएको छ । कार्यालयले बालश्रम दुरुपयोग गर्नेलाई एक लाख ३८ हजार रुपैयाँ जरिवाना र २ लाख ७९ हजार २ सय ९२ रुपैयाँ क्षतिपूर्ति भराएको छ । गत वर्ष २०८०/८१ मा ३५ बालश्रमिकलाई उद्दार गरेर अभिभावकलाई जिम्मा लगाएको थियो । ६८ हजार एक सय रुपैयाँ जरिवाना र ३ लाख ९१ हजार २ सय ५६ रुपैयाँ क्षतिपूर्ति तिराएको थियो । तर पछिल्लो समय न्यूनतम २५ हजार रुपैयाँ जरिवाना लिने गरेको छ । बालबालिकालाई श्रममा लगाउने कार्य नरोकिएपछि जरिवानामा कडाई गरिएको श्रम तथा रोजगार कार्यालय बागमती प्रदेश हेटौँडाका कारखाना निरीक्षक रुद्र नारायण साहले जानकारी दिनुभयो ।
दुई साताअघि मात्र हेटौँडा बजारभित्र संचालनमा रहेका फर्निचर, वर्कशपमा बाल हेल्पलाइन, हेटौँडा उपमहानगरपालिका र श्रम तथा रोजगार कार्यालय बागमती प्रदेश हेटौँडाले संयुक्त रुपमा अनुगमन गरियो । ५ बालबालिकालाई श्रममा लगाएको पाइयो । श्रम तथा रोजगार कार्यालयले विशेष गरेर घरेलु बालश्रममा बालिका प्रयोग भइरहेको र उद्दारमा समस्या रहेको बताएको छ । यता सरोकारवाला निकाय भने सचेतना दिनु बालश्रम न्यूनीकरणको रुपमा बुझिरहेको छ । हेटौँडा उपमहानगरपालिका महिला बालबालिका तथा पञ्जीकरण महाशाखाकी प्रमुख विष्णुकुमारी लामिछानेले गरिबीका कारण बालबालिका श्रममा आउने कार्य नरोकिएको जानकारी दिनुभयो । छिमेकी देश भारतदेखि आएर हेटौँडा उपमहानगरभित्रका वर्कशप, होटल र फर्निचर उद्योगमा बालबालिका जोखिमपूर्ण श्रम गर्ने गरेको पाइएकोले उपमहानगरलाई बालश्रम न्यूनीकरणमा चूनौति रहेको उहाँको भनाई छ । व्यावसायिक क्षेत्रमा मात्र नभई घर परिवारमा पनि बालश्रम हुने गरेको जानकारी दिनुहुँदै उहाँले सबै ठाउँमा बालश्रमिकको उद्दारमा उपमहानगर जान नसकेको उल्लेख गर्नुभयो ।
थाहा नगरपालिकाका रोजगार संयोजक कुमार नेगीले पालिकाका बालबालिका काठमाडौं र हेटौंडा लगायत अन्य ठाउँमा गएर बालश्रममा संग्लन रहेको पाइएको जानकारी दिनुभयो । समन्वयकारी भूमिकामा नै समस्या रहेको बताउनुहुँदै उहाँले बालश्रमिक उद्दारमा चुनौति रहेको बताउनुभयो । बकैया गाउँपालिकाकी बाल कल्याण अधिकारी होमकुमारी सन्जेलले पालिकाका ३ सय १२ बालबालिकाको जन्मदर्ता नै नभएको जानकारी दिनुभयो । १४ वर्ष भन्दा कम उमेरका ८३ बालबालिका कामको खोजीमा बाहिर गएको सन्जेलले बताउनुभयो । राक्सिराङ गाउँपालिकाका बाल कल्याण अधिकारी गोविन्द अधिकारीले बालश्रम सम्बन्धी सचेतना कार्यक्रम गरिरहेको जानकारी दिनुभयो । कृषि सम्बन्धी बालश्रममा बालबालिका बढी संलग्न रहेको उहाँको भनाई छ । जसमा बालुवा तथा गिट्टी चाल्ने काममा राक्सिराङका बालबालिका संग्लन हुने गरेको उहाँले बताउनुभयो ।
भीमफेदी गाउँपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी बिमला बर्तौैलाले प्रमुख बालअधिकार समिति गठन गरिएको जानकारी दिनुहुँदै उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिएको बताउनुभयो । तथ्यांकगत रुपमा बालश्रम नदेखिए पनि अन्य पालिकामा गएर बालबालिकाले श्रम गरिरहेको पाइएको उहाँले बताउनुभयो । पालिकालाई बालश्रम र बालविवाह न्यूनीकरणका लागि चुनौति रहेको उहाँको भनाई छ । मानसिक स्वास्थ्य समस्या भएका बालबालिकाको पुनस्र्थापनामा कठिनाई, अभिभावक वैदेशिक रोजगारमा गएका, अभिभावकले बालबालिकालाई आफन्तको जिम्मा लगाएका अधिकांश बालबालिकाहरुमा समस्या रहेको बाल हेल्पलाइन मकवानपुरका संयोजक झबिन्द्र ज्ञवालीले जानकारी दिनुभयो । सर्वेक्षणको क्रममा बालबालिका विद्यालय जान नमानेको अवस्थामा कसरी विद्यालय जाने वातावरण बनाउने भन्ने विषयमा पालिका जिम्मेवार हुन आवश्यक रहेको बताउनुभयो ।