सामरी (मकवानपुरगढी) : मकवानपुरको सामरी खोलामा नदीजन्य पदार्थ उत्खनन् मापदण्ड विपरित भएको पाइएको छ । गत मंसिर २३ गतेदेखि नदिजन्य पदार्थ उत्खनन्को ठेक्का पाएको सगरमाथा अमित जेभीले मकवानपुरगढी गाउँपालिकाको सामरी खोलाको तीन स्थानबाट भएको नदीजन्य पदार्थ उत्खनन् मापदण्ड अनुकुल नभएको पाइएको हो । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको टोलीले गरेको अनुगमनमा नदीजन्य पदार्थ उत्खनन् कार्यमा मापदण्ड अनुसार काम नभएको निश्कर्ष निकालेको हो । समन्वय समिति प्रमुख ललित बहादुुर घलानको नेतृत्वमा गएको टोलीले ढुंगा, गिट्टी तथा बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७ अनुसार नभएको निश्कर्ष लिएको हो ।
जिल्ला समन्वय अधिकारी शान्ति विकका अनुुसार हालसम्म सो खोलामा ३ पटक अनुगमन भइसेकको र अनुगमनका क्रममा भेटिएका कमजोरी तथा त्रुटि हटाउन सुझाव दिएपनि कम्पनीले सम्बोधन गरेको छैन । उत्खनन् स्थलमा सूचना पार्टी राख्नुपर्ने मापदण्ड भएपनि कम्पनीले वेवास्ता गरेको उहाँले जानकारी दिनुभयो । स्थानीय तहले निर्धारण गरेको लाइन, लेन्थको सीमा समेत कम्पनीले हटाएर आइइ गरेको भन्दा फरक ठाउँमा उत्खनन् गरेको उहाँले बताउनुभयो । सामरी खोलाको ३ स्थानबाट तोकिएको मापदण्ड अनुसार नदीजन्य पदार्थ उत्खनन् गर्ने गरी ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले अनियमित ढंगबाट उत्खनन् गरेको समन्वय समिति प्रमुख घलानले बताउनुभयो । कार्यविधि अनुुसार हुनु पर्ने मापदण्ड समेत पालना नभएको उहाँले बताउनुभयो । वातावरणीय प्रभाव मूल्यांकन विपरित नदीबाट गिट्टी बालुवा उत्खनन् गरेको उहाँको भनाई छ ।
उत्खनन्को जिम्मा लिएको कम्पनीले खोलामा ठुला र गहिरो खाल्डो पर्नेगरी उत्खनन् गरेको, समवेनशील स्थानमा पनि उत्खनन् गरेको, अनुमति नभएको र जफतका लागि तोकिएको स्थानमा नदीजन्य पदार्थ घाटगद्दी गरेको पाइएको घलानले बताउनुभयो । उत्खनन् मापदण्ड अनुसार मानव बस्ती र वन क्षेत्रको २ किलोमिटर, राजमार्गको ५०० सय मिटर दूरी भित्रको नदी, सडक पुल तथा झोलुङे पुलको एक किलोमिटर तल र ५०० मिटर माथिको नदीजन्य पदार्थ उत्खनन् र संकलन गर्न रोक लगाएको छ । तर, निर्माण कम्पनीले पक्की पुललाई नै जोखिम हुने गरी पुलको मुनीसम्म उत्खनन् गरेको उहाँको भनाई छ । कम्पनीले एकै स्थानमा दुई पटकसम्म उत्खनन् गरेको भेटिएको उहाँले बताउनुभयो ।
मापदण्ड विपरित काम गरेको उक्त कम्पनीलाई भने अनुगमन टोलीले कारवाही गरेको छैन । प्रमुख घलानले उत्खनन् गरिएको क्षेत्रमा नदीजन्य पदार्थलाई घाटगद्दी गरी नापजाँच गर्न निर्देशन दिइएको छ । उक्त नापजाँचको प्रतिवेदनको आधारमा आवश्यक प्रक्रिया अघि बढाउन उहाँको निर्देशन छ । मापदण्ड अनुसार काम नगर्ने व्यक्ति वा संस्थालाई कारवाहीको दायरामा ल्याउन उहाँले गाउँपालिकालाई निर्देशन दिनुभयो ।
मकवानपुरगढी गाउँपालिकाले २०८१ मंसिर २३ मा ३ स्थानबाट नदीजन्य पदार्थ उत्खनन् गर्ने गरी ठेक्का सम्झौता गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुदन लामिछानेले जानकारी दिनुभयो । ४ करोड ५ लाख रुपैयाँमा १ लाख २९ हजार घनमिटर नदीजन्य पदार्थ उत्खनन् गर्नेगरी सगरमाथा अमित जेभीसँग ठेक्का सम्झौता भएको उहाँले जानकारी दिनुभयो । हालसम्म निर्माण कम्पनीले उत्खनन् गरी घाटगद्दी गरेको १ लाख १६ हजार घनमिटर नदीजन्य पदार्थ नापजाँच गरिसकेको उहाँले बताउनुभयो । चैत मसान्तसम्मको समयसिमा रहेको सो कम्पनीले १३ हजार घनमिटर नदीजन्य पदार्थ उत्खनन् गर्न बाँकी रहेको उहाँको भनाई छ ।