हेटौँडा : चैत दोस्रो साता एसईईसँगै विद्यालय तहका सबै कक्षाको परीक्षा सकियो । परीक्षा सकिएर यतिबेला विद्यार्थी नतीजाको प्रतिक्षामा छन् । शिक्षक भने तालिममा व्यस्त छन् । सरकारी र निजी दुबै खाले विद्यालयमा शिक्षकका लागि धमाधम तालिम भइरहेको छ । विद्यालयले एक्लै वा सामूहिक रुपमा शिक्षकका लागि तालिमको आयोजना गरेको छ ।
अघिल्लो साता हेटौँडा–५ स्थित ज्ञानोदय बालबाटिका आवासीय विद्यालयले ६ वटा विद्यालयसँगको सहकार्यमा शिक्षकका लागि तालिमको आयोजना गरेको थियो । पूर्वप्राथमिक तहका शिक्षकका लागि आयोजना गरिएको तीन दिने तालिम उपलब्धीमूलक भएको आयोजक र सहभागी दुबैको प्रतिक्रिया छ । यस्तै हेटौँडा–१३, पदमपोखरीस्थित फेमकल एकेडेमीले शिक्षकका लागि ३ दिने तालिम सञ्चालन गरेको छ । विद्यालयले शनिबारदेखि सोमबारसम्म तालिमको आयोजना गरेको थियो । विद्यालयले पूर्वप्राथमिक तह तथा ३ कक्षासम्म पठनपाठन गराउने १६ जना शिक्षकको सहभागितामा तालिमको आयोजना गरेको शिक्षक सुष्मा नकर्मीले जानकारी दिनुभयो । चालु शैक्षिकसत्रको वार्षिक परीक्षा सकिएर पठनपाठन नभएको समयमा शिक्षकहरुलाई आयोजना गरिएको उहाँको भनाई छ ।
यस्तै हेटौँडा–१६, हटियामा रहेको रेडरोज इङ्गलिस बोडिङ्ग स्कुलले पनि शिक्षकका लागि तालिमको आयोजना गरेको छ । विद्यालयले सोमबार पूर्वप्राथमिक कक्षामा पठनपाठन गराउने १० जना शिक्षकलाई तालिम प्रदान गरिएको स्कुलकी प्रिन्सिपल सरिता भण्डारीले जानकारी दिनुभयो । शिक्षकहरुलाई पाठ्यक्रममा आधारित तालिम प्रदान गरिएको थियो । विद्यार्थीलाई कसरी पठनपाठनमा रुचि जगाउन सकिन्छ, कुन आधारमा पठनपाठन गराउने भन्ने उद्देश्यले तालिम प्रदान गरिएको थियो । तालिममा ज्ञानवृक्ष एजुकेशन फाउण्डेशनकी प्रतिक्षा पुलामी मगरले सहजीकरण गर्नुभएको थियो । विद्यालयले चालु शैक्षिकसत्रको नतिजा प्रकाशन गर्ने तयारीमा गरिरहेको जानकारी गराउनुहुँदै प्रिन्सीपल भण्डारीले भन्नुभयो, ‘विद्यालयको शैक्षिक वातावरण अझै राम्रो बनाउँदै लैजाने योजनाअनुसार तयारी भइरहेको छ ।
चालु शैक्षिकसत्रमा ७ सय विद्यार्थी थियो । आगामी शैक्षिक सत्रमा विद्यार्थी संख्या ८ सय पुर्याउने लक्ष्य छ ।’ विद्यालयले आगामी दिनमा नतिजा सुधार गर्ने, खेलद्वारा विद्यार्थीहरुलाई सिकाउने, प्रविधिलाई जोड्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।