रेफ्रीलाई बल हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गरिँदै ।

हेटौँडा : हेटौँडा–४, कर्रास्थित श्रमिक माध्यमिक विद्यालयको खेलमैदानमा २३ वर्ष भन्दा कम उमेर समूहको ७ ए साइड फुटबल प्रतियोगिता सुरू भएको छ । श्रमिक माविका संस्थापक इन्द्रबहादुर श्रेष्ठको स्मृतिमा कर्रा युवा क्लबको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन स्वर्गीय इन्द्रबहादुर श्रेष्ठकी श्रीमति विन्दुकुमारी श्रेष्ठको अध्यक्षता तथा वडाध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यमा भएको हो ।

२८ टिम सहभागी प्रतियोगिताको उद्घाटन खेलमा टीम–२५ विजयी भएको छ । टीम–२५ ले गोर्खा ब्वाइजलाई २–१ गोलअन्तरले पराजित गरेको हो । टीम–२५ का लागि दुई गोल गर्ने सुरेश राई म्यान अफ द म्याच घोषित भए । चैत २९ गते फाइनल खेल हुने प्रतियोगिताको उपाधि विजेताले ३० हजार, उपविजेताले १५ हजार रुपैयाँसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।

उद्घाटन कार्यक्रममा बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्य संगीत श्रेष्ठ, मकवानपुर जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष सानु लामाको पनि आतिथ्य रहेको थियो । प्रतियोगिता आयोजनाका लागि एक लाख रुपैयाँ भन्दा बढी खर्च हुने अनुमान गरिएको आयोजक समितिका निरज सिंह ठकुरीले जानकारी दिनुभएको छ ।