Home मुख्य समाचार एमबिबिएस अध्यापनको तयारी गर्दै प्रतिष्ठान, ३३ जना प्राज्ञिक जनशक्ति भर्ना गरिँदै

एमबिबिएस अध्यापनको तयारी गर्दै प्रतिष्ठान, ३३ जना प्राज्ञिक जनशक्ति भर्ना गरिँदै

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको हेटौँडा अस्पतालमा प्रतिष्ठानका पदाधिकारी ।

हेटौँडा : हेटौँडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबिबिएस अध्यापनको तयारी थालेको छ । प्रतिष्ठानले आगामी वर्षबाट चिकीत्सा शिक्षा आयोग मार्फत् एमबिबिएस अध्यापनको तयारी अघि बढाएको हो ।

प्रतिष्ठानले भौतिक संरचना तथा उपकरण व्यवस्थापनसँगै जनशक्ति तयार गर्नेगरी अगाडि बढाएको हो । प्रतिष्ठानले हेटौंडा–१० स्थित भुटनदेवी चौरको जग्गामा निर्माणाधीन शैक्षिक भवन र हेटौंडा–१ हेटौंडा अस्पताल परिसरमा निर्माण भइरहेको २०० शैय्या क्षमताको अस्पताललाई पूर्णता दिएर औजार उपकरण जडानका लागि तयारी थालेको प्रतिष्ठानका उपकुलपति डा. प्रदिप ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार निर्माणाधिन शैक्षिक भवन र अस्पताल भवनको चालु आर्थिक वर्षमा असार मसान्तसम्म सम्पन्न हुने अवस्थामा रहेको छ । सम्पन्नता पाए लगत्तै उक्त भवनाहरुमा आवश्यक औजार उपकरण जडान गरी संचालनमा ल्याउने प्रतिष्ठानको योजना रहेको उहाँले बताउनुभयो । सो कार्यका लागि प्रतिष्ठानले बागमती प्रदेश सरकार मार्फत् बजेट व्यवस्था गरेर आवश्यक प्रक्रिया पूरा गरी उपकरण जडानको कार्य गर्ने उहाँको भनाई छ ।

‘हाल सो भवनको भौतिक संरचनाको मात्र कामका लागि ठेक्का लगाइएको छ । सो काम आगामी असारसम्म सकिन्छ । सो पश्चात प्रदेश सरकार मार्फत् बजेट व्यवस्था गरी औजार उपकरणका व्यवस्थापन तथा जडानको काम हुनेछ । चिकित्सा शिक्षा आयोगबाट एबिबिएस कार्यक्रम ल्याउन पूर्वाधार तयार गरेर मात्र हुँदैन । त्यसका लागि आवश्यक अस्पताल, ल्याव, उपकरण, शैक्षिक तथा प्राज्ञिक जनशक्ति व्यवस्थापनको प्रक्रिया भइरहेको छ ।’ उहाँले भन्नुभयो । आगामी वर्षबाट आयोगले तोके अनुसारको सिट र संकायमा एबिबिएस अध्यापन चलाउने गरी तयारी भएको उहाँले बताउनुभयो । सो कार्यका लागि प्रदेश सरकारले व्यवस्थापन गर्नुपर्ने कुल छात्रवृत्तिको ७५ प्रतिशत स्रोत सुनिश्चित गर्न छलफल भइरहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिष्ठानले एबिबिएस अध्यापन कार्यका लागि ३३ जना प्राज्ञिक जनशक्ति भर्नाका लागि आवेदन माग गरेको छ । प्रतिष्ठानले एबिबिएस कक्षा संचालनको पूर्व तयारीका रुपमा जनशक्ति व्यवस्थापन गर्नेगरी ३३ जना प्राज्ञिक जनशक्ति माग गर्दै आवेदन आह्वान गरेको हो । प्रतिष्ठानको प्राज्ञिक सेवातर्फ आवश्यक जनशक्तिहरु करार सेवाबाट लिनेगरी आवेदन माग गरेको प्रतिष्ठानका रजिष्ट्रार भीमसागर गुरागाईंले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिष्ठानले एनाटोमी, फिजियोलोजी, बायोकेमेष्ट्री, प्याथोलोजी, फर्माकोलोजी, कम्युनिटी मेडिसिन, माइक्रोबायोलोजी, सर्जरी, इएनटी, अर्थोमोलोजी, रेडियोलोजी, साइकाट्रिक, डेन्टल, डर्माटोलोजी, फोरेन्सिक मेडिसिन संकायका प्राध्यापक माग गरेको छ ।

त्यस्तै साइकोलोजी, प्याथलोजी, कम्युनिटी मेडिसिन, फोरेन्सिक मेडिसिन, माइक्रोबायोलोजी, अर्थोमोलोजी, रेडियोलोजी, डर्माटोलोजी, एडिजीपी, इएनटी, बायोकेमेष्ट्रि, हेम्याटोलोजी, मिडवाईफरी नर्सिङ, कम्युनिटी हेल्थ नर्सिङ, साइकाट्र्रिक नर्सिङ, पेडिएट्रिक नर्सिङ, फर्माकोलोजीको लेक्चरर र ल्याव मेडिसिनको इन्स्टक्टर भर्नाका लागि आवेदन माग गरिएको उहाँले बताउनुभयो । सो नियुक्ति पश्चात एबिबिएस अध्यापनका लागि आवश्यक जनशक्तिको पूर्वाधारहरु निर्माण तयार हुने उहाँको भनाई छ । हाल हेटौंडा अस्पतालमा रहेका चिकित्सकहरुलाई पनि प्रतिष्ठानले प्रयोग गरी थप सेवा गर्ने गरी प्राज्ञिक तथा शैक्षिक जनशक्तिको रुपमा नियुक्त गरिएको उहाँले जानकारी दिनुभयो । अस्पतालको जनशक्ति अपुग भएका थप जनशक्ति भर्नाको प्रक्रिया गरिएको उहाँले बताउनुभयो ।

Exit mobile version