नेपालमा कक्षा १२ सम्मलाई विद्यालय शिक्षा मानिए पनि कक्षा १० को अन्तिममा लिइने परीक्षाको चर्चा बढी हुने गरेको छ । विगतमा कक्षा १० सम्म विद्यालय तहको शिक्षा हुँदा कक्षा १० को अन्तिममा लिइने एसएलसी परीक्षालाई फलामे ढोकाको संज्ञा दिएर विशेष महत्वको रुपमा लिइन्थ्यो । अहिले पनि कक्षा १० को अन्तिममा लिइने माध्यमिक शिक्षा परीक्षा (एसईई)लाई विगतकै एसएलसीजस्तै उच्च चासो र महत्व दिइने गरेको छ । विद्यार्थी, अभिभावक, शिक्षक, विद्यालयका साथै शिक्षासँग सम्बन्धित सबैजसो निकायले एसईईलाई धेरै महत्व दिने गरेका छन् । अहिलेको एसईई विगतको एसएलसीकै ढाँचामा उत्तिकै तामझामका साथ सञ्चालन हुने गरेको छ । विद्यार्थीलाई होम सेन्टर नहुने गरी परीक्षा केन्द्र तोक्ने, देशव्यापी एकै समयमा परीक्षा सञ्चालन गर्ने, परीक्षाका सबै प्रक्रियामा उच्च सुरक्षा सतर्कता अपनाउने, सबै उत्तरपुस्तिका केन्द्रिकृत गरी परीक्षण केन्द्रमै बसेर परीक्षण गर्ने र राष्ट्रिय परीक्षा बोर्डले देशव्यापी एकै पटक नतिजा सार्वजनिक गर्ने भएकाले एसईईको चर्चा र चासो बढी हुने गरेको पाइन्छ ।

चालु शैक्षिक सत्र २०८१ को एसईई आज चैत ७ गते बिहीबारदेखि देशभर सुरु हुँदैछ । साधारण धारतर्फको परीक्षा चैत १५ गतेसम्म र प्राविधिक धारतर्फको एसईई चैत १८ गतेसम्म हुनेछ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने एसईई परीक्षा विहान ८ बजेबाट सुरु हुनेछ । विद्यालय तह पार हुने परीक्षा अहिले कक्षा १२ को अन्त्यमा लिइने र एसईईलाई राष्ट्रिय स्तरमा सञ्चालन नगर्ने भनिए पनि त्यसो हुन सकेको छैन । नयाँ शिक्षा ऐन तथा नियमावली बन्न नसक्दा विगतको एसएलसीजस्तै अहिलेको एसईई देशव्यापीरुपमा सञ्चालन भइरहेको छ । यस वर्ष देशभर ५ लाख १४ हजार ७१ जना विद्यार्थी एसईईमा सहभागी हुँदैछन् । सहभागी विद्यार्थीमध्ये २ लाख ५७ हजार ७३० छात्रा, २ लाख ५६ हजार ३११ छात्र र ३० जना अन्य विद्यार्थी छन् । ११ हजार २१६ विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुँदैछन् । सहभागी विद्यार्थीमध्ये १६ हजार ९४७ जना प्राविधिक धारका छन् । देशभर २ हजार ७९ र जापानमा एउटा गरी २ हजार ८० वटा परीक्षा केन्द्र तोकिएका छन् । एसईईका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक÷सहयोगी कर्मचारी र सुरक्षाकर्मी समेत ७७ हजार ८१७ जना जनशक्ति प्रत्यक्ष परिचालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

मकवानपुर जिल्लाबाट यस वर्ष ७ हजारभन्दा बढी विद्यार्थीले एसईई दिँदैछन् । जिल्लाबाट नियमित र ग्रेडवृद्धि गरी यस वर्ष ७ हजार ४५६ जना विद्यार्थीले एसईई आवेदन फारम भरेका छन् । ग्रेडवृद्धिका लागि साधारणतर्फ १ हजार ४ सय ९५ र प्राविधिक धारतर्फ ९६ जनाले परीक्षा आवेदन फारम भरेका छन् । यस वर्ष मकवानपुर जिल्लामा २८ वटा परीक्षा केन्द्र कायम गरिएको छ । गत वर्ष जिल्लामा २६ वटा परीक्षा केन्द्र तोकिएको थियो । एसईई परीक्षाको लागि आवश्यक जनशक्ति व्यवस्थापन, परीक्षा केन्द्रहरुमा उत्तरपुस्तिका ढुवानी र परीक्षा केन्द्र नजिकको प्रहरी कार्यालयमा प्रश्नपत्र पुर्‍याइसकिएको छ ।

विद्यार्थी जीवनमा परीक्षाको विशेष महत्व हुन्छ । एउटा कक्षा वा तह पार गर्ने मुख्य आधार परीक्षा भएकाले परीक्षा उत्तीर्ण हुनैपर्ने बाध्यता विद्यार्थीलाई हुन्छ । सामान्यरुपमा हेर्दा एसईईले विद्यार्थीलाई कक्षा १० बाट ११ कक्षामा जान पाउने वा नपाउने निर्णय दिन्छ । तर, कक्षा ११ बाट विद्यार्थीले आफ्नो रुचि र क्षमताअनुसार निश्चित विषय चयन गरेर उच्च शिक्षाको आधारको रुपमा अध्ययन गर्ने भएकाले यसलाई महत्व दिनु स्वभाविक पनि हो । एसईईमा विषयगत बाह्य (सैद्धान्तिक) परीक्षामा ३५ प्रतिशत र आन्तरिक (प्रयोगात्मक) परीक्षामा ४० प्रतिशत अंक ल्याउने विद्यार्थी लेटर ग्रेडिङको आधारमा माथिल्लो कक्षा अध्ययनका लागि योग्य हुने र त्योभन्दा कम अंक ल्याएमा ‘एनजी’ (नट ग्रेडेड) हुँदै पुनः परीक्षा दिनुपर्ने हुन्छ । एक वर्षसम्मको तयारीपछि एसईईमा सहभागी हुँदै गरेका विद्यार्थीले परीक्षा र नतिजालाई दवावको रुपमा नलिई सामान्यरुपमा त्रासमुक्त भएर परीक्षा दिनु उचित हुनेछ । एसईईमा सहभागी विद्यार्थीले शान्त र सहजरुपमा परीक्षा दिँदै उच्च ग्रेडसहितको नतिजाको लागि शुभकामना छ ।