हेटौँडा : बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले महिला पत्रकारबीच बागमती प्रदेशस्तरीय समाचार लेखन प्रतियोगिता आयोजना गरेको छ । खोजमूलक पत्रकारिताका लागि महिला पत्रकारहरुलाई विद्वतवृत्ति गर्ने कार्यक्रम अन्तर्गत मंगलबार प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितामा उत्कृष्ट २० प्रतियोगीमध्ये १३ जिल्लाका १७ जनाको सहभागिता रहेको थियो । यसअघि खोजमूलक पत्रकारिताका लागि महिला पत्रकारहरुलाई विद्वतवृत्ति कार्यक्रम अन्तर्गत २९ जनाले लेख तथा समाचार पठाएका थिए । जसमा उत्कृष्ट २० जनालाई छनौट गरेर प्रतियोगितामा सहभागी गराएको हो । मन्त्रालयले केही दिनमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेहरूको नाम सार्वजनिक गरेर प्रदेश सरकारको विशेष समारोहमा क्रमशः २० हजार, १५ हजार, १० हजार र ५ हजार रुपैयाँसहित पुरस्कृत गरिने जनाएको छ । पहिलो चरणमा प्रतियोगितामा सहभागी हुने १७ जनालाई जनही १० हजार रुपैयाँका दरले प्रोत्साहन प्रदान गरिने बताइएको छ ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव बद्रीनाथ गैह्रे, प्रवक्ता अमृत अधिकारी, लैङ्िगक सम्पर्कव्यक्ति चन्द्र कुमारी व्यञ्जनकार, सञ्चारिका समूह नेपाल बागमती प्रदेशका निवर्तमान अध्यक्ष सरिता दाहाल, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगर लगायतको उपस्थिति रहेको थियो । नेपाल पत्रकार महासंघ बागमती प्रदेश र सञ्चारिका समूह नेपाल बागमती प्रदेशको समन्वयमा प्रतियोगिता भएको थियो ।
