हेटौंडाः हेटौंडा–१३, रमनथलीका ५९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडा–४, कर्रास्थित आइसोलेसन वार्डका ईन्चार्ज भोला चौलागाईंका अनुसार साउन ५ गते साउदी अरबबाट रमनथलीस्थित घर आइपुगेका ती पुरुषको स्वाब संकलन गरी हेटौंडास्थित कोरोना परीक्षण प्रयोगशालामा परीक्षण गर्दा सोमबार दिउँसो कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका पुरुष साउदी अरबबाट आएर घरमै क्वारेन्टिनमा बसेका थिए ।

कोरोना संक्रमित पुरुषलाई सोमबार साँझ आइसोलेसन कक्ष ल्याइएको छ । उनीसहित आइसोलेसन कक्षमा ६ जना उपचाररत छन् । सोमबार जिल्लाका विभिन्न स्थानका क्वारेन्टाइन तथा होम क्वारेन्टाइनमा रहेका तथा स्वास्थ्य उपचारको क्रममा शल्यक्रिया गर्नुपर्ने व्यक्तिसहित २६ जनाको स्वाब परीक्षण गरिएको थियो ।