हेटौँडा : नेपाल पत्रकार महासंघ मकवानपुरले पूर्ण प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनका गम्भिर बन्न सचेत गराएको छ । महासंघ मकवानपुरले शुक्रबार ८ बुँदे घोषणापत्र जारी गर्दै पत्रकारिताको संस्थागत विकास र पत्रकारहरुको सूरक्षाको प्रत्याभुतिका लागि सरोकारवाला निकायको ध्यानाकर्षण समेत गराएको छ ।
महासंघ मकवानपुरको बिहीबार र शुक्रबार मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ स्थित सिम्लाङमा बसेको बैठकले श्रमजीवी पत्रकार तथा नागरिक समाजको अग्रणी संस्था भएकाले अभिव्यक्ति स्वतन्त्रता माथिको हस्तक्षेपको विरोध गर्ने जनाएको छ । महासंघ पत्रकारिता क्षेत्रमा हुने विकृति र विसंगतिलाई निर्मूल पार्न प्रतिवद्ध रहेको र सकारात्मक पत्रकारिताको माध्यमबाट समाजलाई जागृत गर्ने कार्यमा लाग्न सबै पत्रकारहरुलाई आग्रह समेत गरेको छ ।
साना लगानीमा सञ्चालित स्वरोजगारमूलक तथा महिला नेतृत्वको सञ्चार माध्यमको दिगो र भरपर्दो विकासका लागि विशेष ध्यान दिन समेत महासंघले स्थानीय तथा प्रदेश सरकारलाई आग्रह गरेको छ । संघ, प्रदेश र स्थानीय सरकारलाई समानुपातिक विज्ञापन नीति लागु गर्नुका साथै स्थानीय विज्ञापन स्थानीय सञ्चार माध्यमलाई उपलब्ध गराउनुपर्ने बाध्यकारी व्यवस्था गर्न सरकारसँग माग गर्ने महासंघ मकवानपुरले माग गरेको छ ।
त्यसैगरी पत्रकारहरुको क्षमता अभिवृद्धिमूलक रचनात्मक नीति तथा कार्यक्रम ल्याउने र क्षमता अभिवृद्धिका कार्यक्रमहरुलाई अझ व्यवस्थित ढंगले सञ्चालन गर्न प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण समेत गराएको छ । पत्रकारिता विषयमा उच्च शिक्षा अध्ययन गर्न चाहने पत्रकारहरुका लागि छात्रवृत्तिको व्यवस्था गर्न स्थानीय तह र बागमती प्रदेश सरकारसँग पनि महासंघ मकवानपुरले माग गरेको छ ।
मकवानपुरका सबै स्थानीय तहहरुले पत्रकारिता क्षेत्रको प्रवद्र्धनका लागि आवश्यक बजेट व्यवस्थापन गर्न पनि महासंघले आग्रह गरेको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको सिम्लाङ, मार्खु, थाहा नगरपालिकाको चित्लाङ, दामन, सिमभन्ज्याङ क्षेत्रको आवश्यक प्रचारप्रसारका लागि व्यवस्था गर्न, पर्यटनसँग स्थानीय जनताको आयआर्जनलाई जोड्नका लागि व्यावसायिक तालिमको व्यवस्था गर्न आग्रह गरेको छ । मार्खु चित्लाङ क्षेत्रको पर्यटन विकासमा सबै सरोकारवालाले ध्यान दिन पनि महासंघ मकवानपुरले अनुरोध गरेको छ ।
