Home मुख्य समाचार २६ गतेबाट कक्षा–८ (आधारभूत तह) को वार्षिक परीक्षा

२६ गतेबाट कक्षा–८ (आधारभूत तह) को वार्षिक परीक्षा

८ कक्षाको परीक्षा दिँदै विद्यार्थी । फाइल तस्वीर ।

हेटौंडा : आगामी फागुन २६ गतेबाट मकवानपुरका सामुदायिक विद्यालयमा कक्षा–८ (आधारभूत तह)को वार्षिक परीक्षा सुरु हुने भएको छ । मकवानपुरगढी गाउँपालिका र भीमफेदी गाउँपालिकाका विद्यालयमा फागुन २६ गतेबाट कक्षा–८ को वार्षिक परीक्षा सुरु हुने भएको हो ।

यस्तै थाहा नगरपालिकामा फागुन २७ गतेबाट परीक्षा हुने भएको छ । हेटौंडा उपमहानगरपालिका, इन्द्रसरोवर गाउँपालिका, मनहरी गाउँपालिका, कैलाश गाउँपालिका, बकैया गाउँपालिका र बागमती गाउँपालिकामा भने चैत्र ७ गतेबाट कक्षा–८ (आधारभूत तह) को वार्षिक परीक्षा सुरु हुने भएको हो । यस्तै, राक्सिराङ गाउँपालिकामा भने चैत ८ गतेबाट मात्र कक्षा–८ (आधारभूत तह) को वार्षिक परीक्षा सुरु हुने भएको छ ।

मकवानपुरगढी र भीमफेदीमा परीक्षा दिउँसो १ बजेदेखि ३ बजेसम्म सञ्चालन हुने भीमफेदी गाउँपालिकाका शिक्षा शाखा प्रमुख चक्र साउदले जानकारी दिनुभयो । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । २७ गते नेपाली, २८ गते सामाजिक विषयको परीक्षा हुनेछ । यस्तै, चैत्र १ गते विज्ञान, ३ गते गणित, ४ गते स्वास्थ्य र ५ गते स्थानीय विषयको परीक्षा हुनेछ । भीमफेदीका १४ वटा विद्यालयका २ सय ७९ विद्यार्थीले परीक्षाको आवेदन फारम भरेको प्रमुख साउदले जानकारी दिनभयो ।

यसैगरी मकवानपुरगढीका १६ वटा विद्यालयबाट ४ सय ६७ विद्यार्थीले पनि सोही दिनबाट परीक्षा दिने मकवानपुरगढी गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामबहादुर घलानले जानकारी दिनुभयो । यस्तै, थाहा नगरपालिकामा फागुन २७ गतेबाट सुरु हुने परीक्षाका लागि २५ वटा विद्यालयका ६ सय ३३ जना विद्यार्थीले परीक्षा आवेदन फारम भरेको थाहा नगरपालिकाका शिक्षा शाखा प्रमुख सूर्यबहादुर थिङले जानकारी दिनुभयो ।

चैत ७ गतेबाट सुरु हुने परीक्षाका लागि इन्द्रसरोवरका ७ वटा विद्यालयका एक सय ८० विद्यार्थीले परीक्षा आवेदन फारम भरेको इन्द्रसरोवर गाउँपालिकाका शिक्षा शाखा प्रमुख धर्मानन्द पन्तले जानकारी दिनुभयो । मनहरीका १८ वटा विद्यालयका करिब ९ सय विद्यार्थीले परीक्षा आवेदन फारम भरेको मनहरी गाउँपालिका शिक्षा शाखा प्रमुख प्रदीप पराजुलीले जानकारी दिनुभयो ।

यसैगरी, कैलाशका १० वटा विद्यालयबाट ४ सय २७ विद्यार्थीले परीक्षा आवेदन फारम भरेको कैलाश गाउँपालिका शिक्षा शाखाका प्राविधिक सहायक दीपेन्द्र अधिकारीले बताउनुभयो । हेटौंडाका ८४ विद्यालयबाट ४ हजार ३ सय ३७ विद्यार्थीले परीक्षा आवेदन फारम भरेको हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाका शिक्षा अधिृकत रमेश बिडारीले जानकारी दिनुभयो । बकैयाका २२ वटा विद्यालयबाट ६ सय ८५ विद्यार्थीले परीक्षा आवेदन फारम भरेको बकैया गाउँपालिकाका शिक्षा शाखा प्रमुख आइतराम तामाङले जानकारी दिनुभयो । परीक्षा १४ गतेसम्म सञ्चालन हुनेछ ।

चैत ८ गतेबाट सुरु हुने कक्षा–८ (आधारभूत तह) को वार्षिक परीक्षाका लागि राक्सिराङका १५ वटा विद्यालयबाट ४ सय १८ विद्यार्थीले परीक्षा आवेदन फारम भरेका छन् । परीक्षा १५ गतेसम्म सञ्चालन हुने राक्सिराङ गाउँपालिकाको शिक्षा अधिकृत पंकज थारुले जानकारी दिनुभयो ।

Exit mobile version