हेटौंडाः हेटौंडामा उपमहानगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । बुधबार हेटौंडा–४ स्थित हुप्रचौरमा सुरु भएको प्रतियोगिताको उद्घाटन नगर प्रमुख मीनाकुमारी लामाले गर्नुभयो ।
हेटौंडा उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगिता शुक्रबारसम्म सञ्चालन हुनेछ । प्रतियोगिता अन्तर्गत बुधबार पहिलो दिन एथ्लेटिक्स, भलिबल, तेक्वान्दो खेल सुरु भएको छ । भलिबल हुप्रचौरको भलिबल कोर्टमा, तेक्वान्दो कभर्ड हलमा सञ्चालन भएको छ ।
हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको व्यवस्थापनमा सञ्चालन भएको प्रतियोगितामा सामुदायिक र संस्थागत गरी ३८ वटा विद्यालयका विद्यार्थीको सहभागिता रहेको संयोजक राजाराम पोखरेलले जानकारी दिनुभएको छ । प्रतियोगिता अन्तर्गत छात्र/छात्रा भलिबल, कबड्डी, एथ्लेटिक्स, मार्सल आर्टतर्फ कराँते, तेक्वान्दो, उसुलगायतका खेलहरु सञ्चालन हुने संयोजक पोखरेलले बताउनुभयो । भलिबलतर्फको खेलमा महिलाको ८ वटा टिम र पुरुषको १० टिमको सहभागिता रहेको भलिबलका संयोजक नरेन्द्र मुक्तानले बताउनुभयो ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई स्वर्ण, रजत र काँस्य पदकसहित प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, सम्पूर्ण खेलहरुबाट बढी पदक ल्याउँदै विजेता, उपविजेता र तृतीय हुने विद्यालयलाई पनि ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । नगरस्तरीय प्रतियोगिताबाट छनोट हुने खेलाडीहरु जिल्ला हुँदै प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुन पाउनेछन् ।
नगर प्रमुख लामाले हेटौंडाको हरेक वडामा खेलकुद चलायमान अवस्थामा रहेको दावी गर्नुभयो । खेलाडी उत्पादन गर्नका लागि उत्पादकत्वको विकास आवश्यक रहेको उहाँले बताउनुभयो । यस प्रतियोगितामार्फत खेलाडीलाई राष्ट्रियस्तरमा पुग्न सहयोग गर्ने उहाँले बताउनुभयो ।
गत वर्षको प्रतियोगितामा हेटौंडा–१६, हटियास्थित जनप्रिय मावि प्रथम भएको थियो । ९ स्वर्ण, ६ रजत र ६ कास्य पदकसहित जनप्रिय मावि प्रथम हुन सफल भएको थियो । प्रतियोगितामा हेटौंडा–९ स्थित प्रगति मावि द्वितीय भएको थियो । प्रगति माविले ९ स्वर्ण, २ रजत र २ कास्य पदक जितेका थियो । समान ४ स्वर्ण, २ रजत र २ कास्यसहित हेटौंडा–१८ स्थित ज्योति मावि र हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय मावि तेस्रो स्थानमा रहेका थिए ।