हेटौंडा: रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिकामा जारी प्रथम संस्करणको अल नेपाल बुटवल मेयर कप खुला स्नुकर प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाका ४ जना खेलाडी दोस्रो चरणमा प्रवेश गरेका छन् । बुधबार बुटवलको सिंह कम्प्लेक्सस्थित खस्यौली स्नुकर क्लबमा भएको खेलहरुमा जीत निकाल्दै हेटौंडाको प्रतिनिधित्व गरेका ४ जना खेलाडीले दोस्रो स्थानमा प्रवेश गरेका हुन् ।

हेटौंडाका खेलाडी सोम लामा, जिनेश श्रेष्ठ, विनय लामा र मिथुन लामा विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेको हेटौंडा–४ स्थित बुद्ध स्नुकर हाउसका सञ्चालक पूर्णभक्त लामाले जानकारी दिनुभएको छ । प्रतियोगितमा सोम लामाले राजेश महर्जनलाई ३–० को साझो सेटले पराजित गर्नुभएको छ भने जिनेश श्रेष्ठले काठमाडौं महानगरपालिकाका जितेन लामालाई ३–१ को सेटले पराजित गर्नुभएको छ । यस्तै, विनय लामाले नवल अग्रवाललाई ३–१ को सेटले पराजित गर्नुभएको छ । प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकासहित रुपन्देही, काठमाडौं, पोखरा, धरान, ललिलतपुर, भक्तपुर, नारायणगढ, इटहरी, बिर्तामोड, बनेपा, परासीलगायतका ठाउँहरुबाट करिब २ सय जना भन्दा बढी स्नुकर खेलाडीको सहभागिता रहेको छ ।

प्रतियोगिताको उपाधि विजेताले ३ लाख ३ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले एक लाख एक हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । हाइएस्ट ब्रेकरले ५५ हजार रुपैयाँ तथा सेमिफाइनलिष्टले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, राइजिङ्ग स्टार र अनुशासनको पालना गर्ने खेलाडीले स्नुकर स्टिक प्राप्त गर्नेछन् ।