हेटौँडा : हेटौँडा–११, थानाभर्याङस्थित सडकमा लडेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा यातायात कार्यालय अगाडी बस्ने ४१ वर्षीय जुलाफ बहादुर स्याङ्तान रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
सोमबार दिउँसो ४ बजेर ३० मिनेटको समयमा स्याङ्तान सडकमा हिडिरहेको अवस्थामा लडेर घाइते भएका थिए । स्याङ्तानलाई उपचारका लागि हेटौँडा अस्पताल मकवानपुर ल्याइएको थियो । उपचारको क्रममा साँझ ५ बजेर १० मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।