हेटौंडाः मकवानपुरगढी गाउँपालिका–२ स्थित चण्डिका माध्यमिक विद्यालयको ४६ औं वार्षिक उत्सव सम्पन्न भएको छ । शनिबार गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यमा वार्षिक उत्सव सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक वीरबहादुर गोलेले जानकारी दिनुभयो ।

वार्षिक उत्सवको अवसरमा विद्यालयले कक्षागत प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ । विद्यालयले सञ्चालन गरेको अतिरिक्त क्रियाकलापमा सहभागी भई उत्कृष्ट हुने विद्यार्थीलाई पनि पुरस्कार प्रदान गरेको प्रधानाध्यापक गोलेले बताउनुभयो ।

विद्यालयले वार्षिक उत्सवको अवसरमा नृत्य तथा गायन प्रतियोगिता पनि आयोजना गरेको थियो । वार्षिक उत्सवको अवसरमा विद्यालयले शुक्रबार नर्सरीदेखि १२ कक्षासम्मका विद्यार्थीहरूलाई खेलकुद कार्यक्रम आयोजना गरेको थियो । विद्यालयले नर्सरी र केजी कक्षाका विद्यार्थीका लागि बेलुन फुटाई, १–३ का विद्यार्थीहरुलाई चकलेट रेस, ४–५ मा बेलुन डान्स, ६–८ मा कुर्सी दौड, ९ मा तातो आलु र ११ र १२ लाई कुर्सी दौड खेल खेलाएको थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार लामा गोलेको सभाध्यक्षता रहेको थियो । कार्यक्रममा मकवानपुरगढी २ नम्बर वडाध्यक्ष बखान सिंह पाख्रिन, वडा सदस्यहरु रामप्रसाद चौरेल, सुधाजित गोले, लक्ष्मी बिक, पातलीमाया गोले, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष, प्रधानाध्यापक, शिक्षक, अभिभावकलगायतको उपस्थिति रहेको थियो ।