हेटौंडा : खानेपानीको मिटर चोरी गर्ने २ जना नाबालकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । मंगलबार हेटौंडा–१० बाट १५ वर्षीय र १७ वर्षीय २ नाबालकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गत माघ २७ गते हेटौंडा–४, बुद्धपथस्थित दिलिप राजथलालगायतको घरबाट खानेपानीको मिटर चोरी भएको उजुरीपश्चात् प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा प्रहरीले सिसिटिभी फुटेजका आधारमा खोजतलास गरी २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

अर्यालका अनुसार नाबालकहरुलाई पटक–पटक चोरीका घटनामा पक्राउ गरी तारेखमा छाडिएको थियो । नाबालकहरुलाई मकवानपुर जिल्ला अदालत हेटौंडाबाट चोरीसम्बन्धी कसुर मुद्दामा ५ दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको छ । चोरीका सामान भने फेला नपरेको प्रहरीले जनाएको छ । एक दिनमा ३ वटासम्म मोटर चोरीको घटना भएको उल्लेख गर्दै हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले डेढ महिनाको अवधिमा एक सय भन्दा बढी संख्यामा खानेपानीको मिटर चोरी भएको जनाएको छ ।