हेटौंडाः हेटौंडामा बुधबारबाट अनुपम घलान स्मृति यु–१६ नगरस्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । नगर खेलकुद विकास समितिको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा सुरु भएको पहिलो संस्करणको प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले गर्नुभएको हो ।
गत असोजमा पहिरोमा परेर निधन भएका एन्फा एकेडेमीमा आवद्ध हेटौँडा–१२ का अनुपम घलानको स्मृतिमा हेटौँडा उपमहानगरपालिकाले प्रतियोगिता आयोजना गरेको हो । हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा हेटौंडा–१८ ले विजयी सुरुवात गरेको छ । हेटौँडा–१८ ले हेटौंडा–७ लाई १–० गोलले पराजित गरेको छ । हेटौँडा–१८ का अनमोल मिजारले पहिलो हाफमा एक गोल गर्दै टिमलाई जीत दिलाएका हुन् । म्यान अफ द म्याच मिजार नै घोषित भएका छन् ।
बुधबारै भएको दोस्रो खेलमा हेटौंडा–८ ले विजयी सुरुवात गरेको छ । हेटौंडा–१३ लाई टाइब्रेकरमा ६–५ गोलले हराउँदै हेटौंडा–८ विजयी भएको हो । हेटौंडा–८ बाट शिशिर भण्डारीले र हेटौंडा–१३ बाट प्रितम स्याङ्बोले समान एक÷एक गोल गरेका थिए । म्यान अफ द म्याच हेटौंडा–८ का गोलरक्षक प्रितम स्याङ्बो घोषित भएका छन् ।
१० वटा टिम सहभागी प्रतियोगिताको फाइनल खेल फागुन १० गते हुनेछ । प्रतियोगिताको उपाधि विजेता र उपविजेता टिमले क्रमशः एक लाख र ७० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीले जनही ५ हजार रुपैयाँ नगद पुरस्कार तथा ट्रफी प्राप्त गर्नेछन् । नगर खेलकुद विकास समितिका अध्यक्ष रवीन्द्रप्रसाद घिमिरेको सभाध्यक्षमा भएको उद्घाटन कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख राजेश बानियाँको आतिथ्य रहेको थियो ।