घनश्याम घिमिरे ।

हेटौँडा : नेपाल बुद्धिजीवी परिषद् मकवानपुरको अध्यक्षमा घनश्याम घिमिरे चयन हुनुभएको छ । बुधबार भएको नेपाल बुद्धिजीवी परिषद्को दशौं जिल्ला सम्मेलनले घिमिरेलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । घिमिरे मकवानपुर बहुमुखी क्याम्पसमा नेपाली साहित्यका उपप्राध्यापक हुनुहुन्छ । घिमिरे साहित्य विधामा कुशल समीक्षकको रुपमा चिनिनु हुन्छ ।

घिमिरेको अध्यक्षमा २५ सदस्यीय समिति चयन गरिएको छ । परिषद्को उपाध्यक्षमा संगम चौलागाईं, सचिवमा दीपक अधिकारी, सहसचिवमा काजीराम मोक्तान र समुद्र खनाल चयन हुनुभएको छ । कोषाध्यक्ष चयन हुन बाँकी रहेको बताइएको छ । नवनिर्वाचित पदाधिकारीहरुको कार्यकाल ३ वर्षको रहनेछ । नेपाल बुद्धिजीवी परिषद् मकवानपुरका निवर्तमान अध्यक्ष मोहनप्रसाद शर्माको सभाध्यक्ष तथा परिषद्का केन्द्रीय महासचिव गजेन्द्र थपलियाको प्रमुख आतिथ्यमा जिल्ला सम्मेलनको उद्घाटन भएको हो ।