हेटौँडा : मकवानपुर जिल्ला क्रिकेट संघले आयोजना गरेको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा सहभागी भएका खेलाडीहरुका लागि बन्द प्रशिक्षण सुरु भएको छ । गत माघ महिनाको २९ गते सुरु भएर आइतबार सम्पन्न भएको प्रतियोगिताबाट छनोट भएका खेलाडीहरुका लागि बन्द प्रशिक्षण सुरु गरिएका हो । बन्द प्रशिक्षणमा छनौट परेका ३० जना खेलाडी मध्ये २५ जनाको सहभागिता रहेको मुख्य छनौटकर्ता संजोक पोखरेलले जानकारी दिनुभएको छ ।
आज बुधबारबाट सुरु भएर शुक्रबार सम्म बन्द प्रशिक्षण सञ्चालन हुनेछ । हेटौंडा–४,स्थित हुप्रचौरमा सुरु भएको बन्द प्रशिक्षणमा छनौट भएका खेलाडीहरुलाई क्यान ए र क्यान बी समूहमा छुट्याएर प्रतिस्पर्धा गराइने उहाँले बताउनुभयो । क्यान ए समूहबाट सुमन सुनारले टिम कप्तानको र क्यान बीबाट युविन बुढाथोकीले टिम कप्तानको भूमिका निर्वाह गर्नुहुनेछ ।
प्रतियोगितामा सहभागी भएका मध्ये उत्कृष्ट १४ जना खेलाडीलाई छनौट गरेर प्रदेशस्तरीय छनौट प्रतियोगितामा सहभागी गराउने उहाँले बताउनुभयो । खेलाडीलाई मकवानपुर जिल्ला क्रिकेट संघका सचिव विनोद कुमार बानियाँ र संजोक पोखरेलले छनौट गर्नुहुनेछ । प्रधानमन्त्री कप क्रिकेटको प्रदेश छनौट फागुन महिनाको दोस्रो साताबाट हुन सक्ने उहाँले बताउनुभयो । ६ वटा जिल्लाको सहभागिता रहने छनौट प्रतियोगितामा मकवानपुर, नुवाकोट र चितवनले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा प्रतिस्पर्धा गर्नेछन् भने ललितपुर, भक्तपुर र काठमाडौंले मूलपानी क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्नेछन् ।