हेटौंडा : मातृभूमि साहित्य समाजले आगामी फागुन २४ गते वार्षिक साधारणसभा तथा सम्मान समर्पण कार्यक्रम गर्ने भएको छ । हेटौंडाको रोयल पार्टी प्यालेसमा संस्थाको वार्षिक साधारणसभा एवम् सम्मान समर्पण कार्यक्रम गर्ने भएको हो ।
सोमबार बसेको मातृभूमि साहित्य समाजको कार्यसमितिको विशेष बैठकले पुरस्कार छनोट समितिको सिफारिस बमोजिम सम्मान तथा पुरस्कार प्राप्त गर्ने स्रष्टाबारे निर्णय गरेको छ । समाजका अध्यक्ष कृष्णप्रसाद दाहालको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।
नित्यगोविन्द स्मृति मातृभूमि सङ्गीत पुरस्कार–२०८० गीतकार सुभाषचन्द्र ढुङ्गेललाई प्रदान गरिने भएको छे । पुरस्कारको राशि २० हजार रुपैयाँ रहेको छ । सो पुरस्कार वरिष्ट समाजसेवी मुक्तिगोविन्द वैद्यले आफ्ना स्वर्गीय पिता सङ्गीतकार नित्यगोविन्द वैद्यको नाममा स्थापित गर्नुभएको हो ।
श्याम श्रेष्ठ स्मृति मातृभूमि पुरस्कार–२०८० अनुवादक साहित्यकार डा.विष्णु भण्डारी (आसाम) लाई प्रदान गरिने भएको हो । पुरस्कार राशि १५ हजार रुपैयाँ रहेको छ । सो पुरस्कार समाजसेवी÷शिक्षाप्रेमी आशीष श्रेष्ठले आफ्ना स्वर्गीय पिता श्याम श्रेष्ठको स्मृतिमा स्थापना गर्नुभएको हो ।
शेखर शर्मा रिजाल स्मृति मातृभूमि शैक्षिक पुरस्कार–२०८० असल पाख्रिन, बेबी खातुन र परीक्षा खतिवडालाई प्रदान गर्ने निर्णय गरिएको छ । पुरस्कार राशि प्रतिव्यक्ति १५ हजार रुपैयाँ रहेको छ । सो पुरस्कार समाजसेवी अर्चना शर्मा रिजालले आफ्ना पति शेखर शर्मा रिजालको स्मृतिमा स्थापना गर्नुभएको हो । प्रत्येक वर्ष मकवानपुर जिल्लामा सामुदायिक विद्यालयतर्फ प्रवेशिका परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउने एक छात्र र एक छात्रालाई उक्त पुरस्कार प्रदान गरिने मातृभूमि साहित्य समाज मकवानपुरका सचिव किशन पौडेलले जानकारी दिनुभयो ।
ईश्वरी स्मृति मातृभूमि सम्मान–२०८० काठमाडौंका साहित्यकार नरेन्द्रराज पौडेललाई प्रदान गरिने निर्णय भएको छ । पुरस्कार राशि १५ हजार रुपैयाँ रहेको छ । सो पुरस्कार मातृभूमि साहित्य समाज मकवानपुरका विशिष्ट आजीवन उपासक तथा वर्तमान अध्यक्ष कृष्णप्रसाद दाहालले आफ्ना पिताको स्मृतिमा स्थापना गर्नुभएको हो । यो सम्मान विविध क्षेत्रमा उत्कृष्ट योगदान दिने व्यक्तित्वलाई २०७० सालदेखि प्रदान गर्दै आइरहेको छ ।
हातेमालो मातृभूमि युवा सृजनशील सम्मान–२०८० साहित्यकार दीपक गौतमलाई प्रदान गरिने भएको छ । पुरस्कार राशि १० हजार रुपैयाँ रहेको छ । २०६५ सालमा समाजले आफ्नै नाममा स्थापना गरेको यो सम्मान २०७२ सालदेखि हातेमालो बचत तथा ऋण सहकारी संस्था हेटौंडाले प्रायोजन गर्दै आइरहेको छ ।
मङ्गलादेवी स्मृति मातृभूमि बाल पुरस्कार–२०८० गायिका गृष्मा गहतराजलाई प्रदान गर्ने निर्णय भएको छ । पुरस्कार राशि ७ हजार ५ सय रुपैयाँ रहेको छ । यो पुरस्कार शिक्षासेवी देवप्रसाद श्रेष्ठले स्थापना गर्नु भएको छ । आफ्नो माता मङ्गलादेवी श्रेष्ठको स्मृतिमा उहाँले २०७७ सालमा पुरस्कार स्थापना गर्नुभएको हो । प्रतिभाशाली बालबालिकालाई यो पुरस्कार प्रदान गरिन्छ ।
शारदा उप्रेती स्मृति मातृभूमि सम्मान–२०८० कलाकार ज्ञानरत्न लामालाई प्रदान गर्ने निर्णय भएको छ । पुरस्कार राशि १० हजार रुपैयाँ रहेको छ । सो पुरस्कार अधिवक्ता चुडाराज उप्रेतीले २०८० सालमा स्थापन गर्नुभएको मातृभूमि साहित्य समाजका सचिव पौडेलले जानकारी दिनुभयो ।