हेटौंडा : मकवानपुरको भीमफेदी गाउँपालिकामा जारी पालिकास्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ । मंगलबार प्रतियोगिताका क्वार्टरफाइनल चरणको खेलहरु सम्पन्न भएसँगै प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको हो ।

मंगलबार भएको क्वार्टरफाइनल चरणको खेलहरुमा जीत निकाल्दै ६ ब्रदर्श भैँसे, भीमफेदी ए, निब्टा क्लब र चिउरी बगैंचा सेमीफाइनलमा प्रवेश गरेको छ । ६ ब्रदर्शले कालिकाटार युवा क्लबलाई २–० को सोझो सेटले पराजित गरेको छ । कालिकाटारलाई ६ ब्रदर्शले २५–१३ र २५–२३ को सेटले पराजित गरेको हो ।

दोस्रो खेलमा पान्द्राङ युवा क्लब भैंसेलाई भीमफेदी ए ले २–० को सोझो सेटले पराजित गरेको छ । पान्द्राङ युवा क्लबलाई भीमफेदीले दुबै सेटमा २५–१८ ले पराजित गरेको छ । तेस्रो खेलमा भीमफेदी युवा क्लब बी लाई २–० को सोझो सेटले निब्टा क्लबले पराजित गरेको छ । भीमफेदीलाई निब्टाले २५–१७ र २५–१५ ले पराजित गरेको हो । यस्तै, चौथो खेलमा सुपिङ युवा क्लबलाई चिउरी बगैंचाले २–० को सोझो सेटले पराजित गरेको छ । सुपिङलाई चिउरी बगैंचाले २५–२२ र २५–२१ ले हराएको छ ।

प्रतियोगिता अन्तर्गत आज बुधबार सेमीफाइनल र फाइनल चरणको खेलहरु सञ्चालन हुनेछ । पहिलो सेमीफाइनल खेलमा ६ बदर्श र भीमफेदी ए बीच प्रतिस्र्धा हुनेछ भने दोस्रो खेलमा निब्टा र चिउरी बगैंचाबीच प्रतिस्पर्धा हुनेछ ।

भीमफेदी गाउँपालिकाको आर्थिक सहयोग तथा निब्टा क्लबको आयोजनामा आइतबारबाट सुरु भएको प्रतियोगितामा ११ वटा टिमहरुको सहभागिता रहेको प्रतियोगिताका संयोजक अनिल अधिकारीले जानकारी दिनुभएको छ । क्लबले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा विगत वर्षदेखि विभिन्न कार्यक्रम आयोजना गर्दै आएको संयोजक अधिकारीले बताउनुभयो ।

प्रतियोगिताको उपाधि विजेता र उपविजेता टिमले क्रमशः ३० हजार र २० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाईकर, उत्कृष्ट सेटर र उदीयमान खेलाडीले पनि ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । ३ लाख ९५ हजार ६ सय ८० रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताका लागि गाउँपालिकाले ३ लाख रुपैयाँ उपलब्ध गराएको उहाँले बताउनुभयो ।