बन्द प्रशिक्षणमा सहभागी खेलाडीहरुको तस्वीर ।

हेटौंडा : मकवानपुर जिल्ला क्रिकेट संघले आयोजना गरेको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा सहभागी भएका खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाइएको छ । गत माघको २९ गते सुरु भएर आइतबार सम्पन्न प्रतियोगिताबाट छनोट भएका खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाइएको हो ।

आज बुधबारबाट सुरु भएर शुक्रबार सम्पन्न हुने बन्द प्रशिक्षणमा सहभागी हुने ३० जना खेलाडीको पहिलो चरणमा नाम सार्वजनिक गरेको मुख्य छनोटकर्ता संजोक पोखरेलले जानकारी दिनुभएको छ । बन्द प्रशिक्षणका लागि छनोट भएका ३० जना खेलाडीमध्ये २७ जनामात्र उपस्थित हुने उहाँले बताउनुभयो । छनोटमा परेका रामनरेश गिरी, रिजन ढकाल र शुभ कंसाकार कोशी प्रदेशको कोशी प्रिमियर लिग क्रिकेटमा सहभागी हुन गएका कारण उनीहरुको सहभागिता नरहने उहाँले बताउनुभयो । ३ दिनसम्म चल्ने बन्द प्रशिक्षणमा सहभागी खेलाडीहरुलाई क्यान ‘ए’ र क्यान ‘बी’ समूहमा छुट्याएर प्रतिस्पर्धा गराइने उहाँले बताउनुभयो ।

बन्द प्रशिक्षणमा सहभागी भएकामध्ये उत्कृष्ट १४ जना खेलाडी छनोट गरेर प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी गराउने उहाँले बताउनुभयो । खेलाडीलाई मकवानपुर जिल्ला क्रिकेट संघका सचिव विनोदकुमार बानियाँ र संजोक पोखरेलले छनोट गर्नुहुनेछ । प्रधानमन्त्री कप क्रिकेटको प्रदेश छनोट फागुन महिनाको दोस्रो साताबाट हुनसक्ने उहाँले बताउनुभयो । प्रदेश छनोट प्रतियोगितामा मकवानपुर, नुवाकोट र चितवनले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा प्रतिस्पर्धा गर्नेछन् भने ललितपुर, भक्तपुर र काठमाडौंले मूलपानी क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्नेछन् ।

बन्द प्रशिक्षणमा मकवानुरबाट मिथिलेशकुमार गुप्ता, विजय यादव, प्यूस शर्मा, गौरव खड्का, आस्तिक दहाल, असिम श्रेष्ठ, एमडी राजा, विशाल फुयाँल, गोकुल अधिकारी, रोहित ठाकुर, युविन बुढाथोकी, विकास दास सेनुरिया, रितेश अधिकारी र समिर चौलागाईं छनोट भएका छन् । यस्तै, नवी आलम, सुमन सुनार, तक्षक सिम्खडा, रामनरेश गिरी, सक्षम बस्ताकोटी, विशेष थापा, कुशल दुलाल, इरफान अली, सुवर्ण भट्ट, साकार गजुरेल, आशिक अधिकारी, शिवशक्ति महतो र प्राञ्जल उपाध्याय छनौटमा परेका छन् ।