हटिया : हेटौंडा–१७, हटियास्थित अंगारेश्वर धार्मिक तथा पर्यटन स्थलमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । आगामी माघ ३० गतेदेखि अंगारेश्वर धार्मिक तथा पर्यटन स्थलमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको हो ।
शनिबार मन्दिर परिसरमा पत्रकार सम्मेलन गर्दै सप्ताह ज्ञान महायज्ञका संयोजक कृष्णदेव भण्डारीले कार्यक्रमको बारेमा जानकारी दिनुभएको छ । अंगारेश्वर पर्यटन स्थल, अंगारेश्वर दुग्ध उत्पादन सहकारी संस्था, अंगारेश्वर खानेपानी तथा सिंचाइ उपभोक्ता र टोल विकास संस्थाको संयुक्त आयोजनामा महायज्ञ हुन लागेको संयोजक भण्डारीले बताउनुभयो । पर्यटन स्थलमा १० फिटको महादेवको मूर्ति स्थापना गर्ने उद्देश्यले महायज्ञ गर्न लागेको उहाँले बताउनुभयो ।
नियमित सत्सङ, आध्यात्मिक प्रवचन गरी सनातन धर्म, संस्कार, संस्कृतिको जगेर्ना गर्ने, मन्दिर परिसरभित्र १० फिट अग्लो आधारस्तम्भमा १० फिट अग्लो ध्यानावस्थाको महादेवको मूर्ति स्थापना गर्ने, मन्दिर परिसरमा भएको सभाहललाई स्तरोन्नति गर्ने र मन्दिरको जग्गामा पर्खाल र प्रवेशद्वार निर्माण गर्ने उद्देश्यले महायज्ञ आयोजना गर्न लागेको उहाँले बताउनुभयो । अंगारेश्वर धार्मिक तथा पर्यटन स्थललाई मकवानपुर जिल्लाको धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गरिने विश्वास लिएको उहाँले बताउनुभयो ।
महायज्ञमा मनमोहक कथा, दृश्य प्रभाव, सुन्दर शब्दावली र भावनात्मक प्रस्तुति प्रयोग गर्दा मानिसहरू सहजरूपमा आध्यात्मिक शिक्षामा आकर्षित हुने उहाँले बताउनुभयो । वद्री विशाल शास्त्री र दिनेश काफ्लेले कथावाचन गर्नु हुने उहाँले बताउनुभयो । भौतिक सुन्दरता प्रयोग गरेर आध्यात्मिक सत्यहरूलाई बुझाउने प्रवृत्ति हाम्रो शास्त्रहरूमा पाइने, भक्तहरूलाई आकर्षित गरी प्रेम–भक्तिमा प्रवृत्त गराउने र मानिसहरूलाई पूजापाठतर्फ प्रेरित गराउने उहाँले बताउनुभयो ।