तेक्वान्दो प्रतियोगिता उपाधि विजेताको टिमको तस्वीर ।

हेटौंडा : हेटौंडा–४, पारिजातपथस्थित बहुउद्देश्यीय कभर्ड हलमा शनिबार १७ औं संस्करणको मकवानपुर जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । मकवानपुर जिल्ला तेक्वान्दो संघको आयोजनामा शुक्रबार र शनिबार २ दिनसम्म सञ्चालन भएको जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा पुरुषतर्फ हेटौंडा–४ स्थित कर्रा डोजाङका सुजित माझी र महिलातर्फ जनज्योति डोजाङकी कृषिका क्षेत्री सर्वोत्कृष्ट खेलाडी भएका छन् । सर्वोत्कृष्ट खेलाडी घोषित भएका माझी र क्षेत्रीले जनही ३ हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गरेका छन् ।

हेटौंडा–१४, मयूरधापस्थित जनज्योति तेक्वान्दो डोजाङले प्रतियोगिताको उपाधि जितेको छ । साविक विजेतासमेत रहेको जनज्योति तेक्वान्दो डोजाङले ७ वटा स्वर्ण, २ वटा रजत र ४ वटा काँस्य पदक प्राप्त गर्दै उपाधि उचाल्न सफल भएको हो । प्रतियोगिताको उपविजेता भीमफेदी गाउँपालिकाको भीमफेदी डोजाङ बन्दा र हेटौंडा–४ स्थित मकवानपुर तेक्वान्दो डोजाङ तेस्रो स्थानमा परेको छ ।

मकवानपुर तेक्वान्दो डोजाङ १६ औं संस्करणको प्रतियोगिता पनि तृतीय स्थानमै परेको थियो । उपविजेता बनेको भीमफेदी डोजाङले ५ वटा स्वर्ण, ४ वटा रजत र २ वटा काँस्य पदक प्राप्त गरेको छ । तेस्रो स्थानमा परेको मकवानपुर डोजाङले ३ वटा स्वर्ण, ४ वटा रजत र ६ वटा काँस्य पदक प्राप्त गरेको छ ।

प्रतियोगितामा मकवानपुर जिल्लाको २२ वटा डोजाङबाट पुरुषतर्फ १८ केजी तौल समूहदेखि ६७ केजी तौल समूहसम्मका खेलाडीहरुको सहभागिता रहेको थियो भने महिलातर्फ १७ केजी तौल समूहदेखि ६६ केजी तौल समूहसम्मका करिब ३ सय जना खेलाडी सहभागी भएको संघका अध्यक्ष लालकाजीरत्न बज्राचार्यले जानकारी दिनुभएको छ । प्रतियोगिताको उपाधि विजेता जनज्योति डोजाङले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता भीमफेदी डोजाङको टिमले १० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेकोे छ । तृतीय हुने मकवानपुर डोजाङको टिमले ८ हजार रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

संघका अध्यक्ष बज्राचार्यको सभाध्यक्ष तथा मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीको प्रमुख आतिथ्यमा विजेता, उपविजेता र तेस्रो स्थानमा पर्ने टिमलाई पुरस्कार प्रदान गरिएको छ । समापन कार्यक्रममा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तान, कार्यालय प्रमुख माधव कोइराला, हेटौंडा १० नम्बर वडा अध्यक्ष फुर्वा दोर्जे लामालगायतको उपस्थिति रहेको थियो ।