हेटौंडा: बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिकामा भएको ५ औं संस्करणको डुमरवाना क्रिकेट प्रतियोगितामा मकवानपुर जिल्ला क्रिकेट संघको टिम विजयी भएको छ । जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–१५ स्थित प्रगतिशील खेल मैदानमा भएको प्रतियोगितामा आयोजक टिमलाई हराउँदै मकवानपुरले विजयी सुरुवात गरेको हो ।

शनिबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा मकवानपुरको टिमले आयोजक प्रगतिशील युवा क्लबलाई १ सय ५ रनले पराजित गरेको छ । टस जितेर पहिलो ब्याटिङका लागि मैदानमा उत्रिएको मकवानपुर क्रिकेट एकेडेमीले ५ विकेट गुमाउँदै प्रगतिशील युवा क्लबलाई १ सय ७० रनको लक्ष्य दिएको थियो । मकवानपुरका रामनरेश गिरीले ६२ रन बनाएका थिए । विशाल फुयाँलले ४६, गौरब खड्काले ४२ रन बनाएका थिए । प्रगतिशीलको तर्फबाट योगराज शर्मा र विशाल चौलागाईंले समान २/२ विकेट लिएका थिए ।

मकवानपुरले दिएको १ सय ७० रनको लक्ष्य पछ्याएको प्रगतिशीलले ६५ रनमात्र जोड्न सक्दा सबै विकेट गुमाउनुर्पयो । प्रगतिशीलको तर्फबाट दिपेश आलेले २० र रोशन पोखरेलले १० रन बनाएका थिए । बलिङतर्फ पियुश शर्माले सर्वाधिक ६ विकेट लिन सफल भएका थिए । यस्तै, बिशाल फुयाँल र समीर चौलागाईंले समान २/२ विकेट लिएका थिए ।

मकवानपुर पियुश शर्माले सर्वाधिक ६ विकेट लिँदै म्यान अफ द म्याच घोषित भएका छन् । आइतबार हुने खेलमा मकवानपुरले इस्टर्न क्रिकेट संघ चितवनसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

प्रगतिशील युवा क्लबको आयोजनामा सुरु भएको प्रतियोगितामा मकवानपुरसहित ६ वटा टिमको सहभागिता रहेको मकवानपुर क्रिकेट संघका सचिव विनोदकुमार बानियाँले जानकारी दिनुभएको छ । आगामी फागुन ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा गौर क्रिकेट क्लब, इस्टर्न क्रिकेट एकेडेमी, मकवानपुर क्रिकेट संघ, पर्सा क्रिकेट संघ, कलैया क्रिकेट क्लब र आयोजक प्रगतिशील युवा क्लबको सहभागिता रहेको सचिव बानियाँले बताउनुभयो । गत वर्षको प्रतियोगितामा सहभागी भएको मकवानपुर प्रतियोगिताको विजेता बनेको सचिव बानियाँले बताउनुभयो ।

प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख र उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रत्येक खेलमा म्यान अफ द म्याच हुने खेलाडी तथा विधागततर्फ म्यान अफ द सिरिज, उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरका लागि पनि पुरस्कारको व्यवस्था गरिएको बताइएको छ ।