उपाधिसाथ महिला टिम ।

हेटौँडा : हेटौंडा–१० स्थित वनविज्ञान क्याम्पसको चौरमा भएको टियु फरेष्ट्री गोल्डकप फुटबल प्रतियोगिताको उपाधि एमएस्सी भेट्रान्स र आइओएफले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुरुषतर्फ एमएस्सी भेट्रान्सले आइओएफलाई १–० गोलअन्तरले हराउँदै र महिलातर्फ आयोजकलाई २–१ गोलले हराउँदै आइओएफ २०८१–०८५ ले उपाधि जितेको हो ।

प्रतियोगिताको पुरुषतर्फको उपाधि विजेता टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । महिलातर्फको उपाधि विजेता टिमले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै, उपविजेता महिला र पुरुष टोलीलाई पनि नगद पुरस्कारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतियोगिताको विजेता र उपविजेता टिमलाई हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले पुरस्कार हस्तान्तरण गर्नुभएको छ । पुरस्कार वितरण समारोहमा प्रतियोगिताका संयोजक सुजन चिलुवालको सभाध्यक्षता रहेको थियो । प्रतियोगितामा कृषि तथा वनविज्ञान विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयका पुरुषतर्फ १० वटा टिम र महिलातर्फ ६ वटा टिमको सहभागिता रहेको थियो ।

हेटौँडा उपमहानगरपालिकाको मुख्य सहयोगमा सञ्चालन भएको प्रतियोगितामा वडा कार्यालयहरुबाट सहयोग रहेको थियो । प्रतियोगिताका लागि हेटौँडा उपमहानगरपालिकाले ३५ हजार रुपैयाँ, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) र कलेजबाट ५० हजार रुपैयाँ सहयोग रहेको संयोजक चिलुवालले बताउनुभयो । प्रतियोगिताको समापन कार्यक्रममा स्ववियु कार्यबाहक सभापति अमृत देवकोटालगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।