सर्वदलीय बैठकमा सहभागी।

हेटौँडा : बागमती प्रदेश सभाको हिउँदे अधिवेशनको पहिलो बैठक नै प्रभावित हुने गरी विमति जनाएको प्रतिपक्षले प्रदेश सभा बैठक सञ्चालन गर्न सहमति जनाएको छ । प्रतिपक्षी दल सहमत भएसँगै बागमती प्रदेश सभाको भोलि बुधबार बस्ने बैठक सञ्चालन हुने भएको छ । मंगलबार बसेको सर्वदलीय बैठकले प्रदेश सभा सञ्चालन गर्ने सहमति जुटाएको हो ।

सभामुख भुवन कुमार पाठकको संयोजकत्वमा बसेको सर्वदलीय बैठकले सत्तापक्ष र प्रतिपक्षबीचको बजेटमाथिको विवाद समाधान गर्ने सहमति जुटाएको हो । सभामुख पाठकले बुधबार बस्ने बैठकमा प्रतिपक्षको अवरोध नरहने गरी सहमति भएको जानकारी दिनुभएको छ । उहाँका अनुसार बुधबारको बैठकमा निर्धारित कार्यसूची अनुसार विधेयकहरु प्रस्तुत हुनेछ । बैठकले विभिन्न विषयमा छलफल गरी प्रदेश सभा बैठक सञ्चालनको वातावरण तयार गर्ने गरी प्रतिपक्षसँग र सत्तापक्षबीच सहमति जुटाएको हो ।

बैठकमा सरकारको तर्फबाट प्रतिपक्षले उठाएको मागका सन्दर्भमा अनुकुलताको आधारमा सम्बोधन गर्नेगरी छलफल भएको मुख्यमन्त्री बहादुर सिंह लामाले जानकारी दिनुभएको छ । प्रदेश सरकारको क्षमता र स्रोत अनुसार प्रतिपक्षी दलले उठाएका बजेट माग सम्बोधन गर्नेगरी सहमति भएको उहाँले बताउनुभयो । प्रतिपक्षी दलले विगतको सहमति र विपद् प्रभावित क्षेत्रको पुनःनिर्माण लगायतका विषयमा सरकारले क्रमशः सम्बोधन गर्नेगरी प्रतिवद्धता जनाएको उहाँको भनाई छ ।

बैठकमा सहभागी प्रतिपक्षी दल माओवादी केन्द्रको संसदीय दलका नेता शालिकराम जम्कट्टेलले सर्वदलीय बैठकमा ठोस निश्कर्ष निस्कन नसकेपनि मौखिक प्रतिवद्धता सरकारबाट आएको बताउनुभयो । प्रतिपक्षी दलसँगको सहमतिका विषयमा केही समय पर्खने नीति अनुसार बुधबारको प्रदेश सभा बैठक रोक्ने अवस्थामा नरहेको उहाँले बताउनुभयो । प्रतिपक्षी दलहरुको छलफल र सरकारको प्रतिवद्धताको आधारमा केही दिन पर्खने गरी हाउस संचालनको वातावरण तयार भएको उहाँले बताउनुभयो ।

‘सरकारसँग विविध विषयमा छलफल भए । तर, ठोस निश्कर्ष आएको छैन । यद्यपि प्रतिपक्षी दलहरु तत्काल प्रदेश सभा अवरुद्ध गर्ने अवस्थामा पुगेको छैन’, उहाँले भन्नुभयो, ‘हामी केही समय पर्ख र हेरको स्थितिमा छौं । सरकारको तर्फबाट लिखित सहमति आएको छैन । प्रतिपक्षी दलको माग छिट्टै सम्बोधन गर्ने मौखिक प्रतिवद्धता आएको छ । केही दिन पर्खेर अघि बढ्ने गरी प्रतिपक्षी दलहरुले रणनीति तयार गरेको छ ।’