फाइल तस्विर

हेटौंडाः संयुक्त बजार अनुगमन टोलीले आज हेटौंडा बजारको अनुगमन गरेको छ । हेटौंडा उपमहानगरपालिकाको संयोजनमा खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय, उपभोक्ता संरक्षण मञ्च, घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधिले संयुक्त रुपमा बजारमा अनुगमन गरेको हो ।

हेटौंडा बजारमा सञ्चालित खाद्यान्न पसल, रेस्टुरेन्ट, होटलको अनुगमन गरिएको हो । अनुगमनका क्रममा बरामद भएका उपभोग गर्ने म्याद नाघेका पेयपदार्थ, अखाद्य वस्तु जफत गरिएको हेटौंडा उपमहानगरपालिकाका सामाजिक विकास महाशाखाका प्रमुख भिमप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।

उहाँका अनुसार २८ वटा खाद्यान्न पसल तथा होटलको अनुगमन गरिएको छ । अनुगमनका क्रममा रियल जुस, फ्यान्टा, पेप्सी, डिउ, बिस्कुट उपभोग्य म्याद सकिएको बरामद गरिएको छ । उपमहानगरपालिकाले सरोकारवाला निकायका प्रतिनिधिको सहभागितामा संयुक्त अनुगमन टोली बनाएर बजार अनुगमनलाई नियमित गर्ने हेटौंडा उपमहानगरपालिकाका सामाजिक विकास समितिका प्रमुख भीमप्रसाद तिमल्सिनाले बताउनुभएको छ ।