अक्षरारम्भका‌ लागि बालबालिका विद्यालय पठाउन अभिभावकलाई आग्रह गर्नुहुँदै प्रधानाध्यापक देवकी सिग्देल (दायाँ)।

हेटौंडा: मकवानपुरको बकैया गाउँपालिका–४, स्थित महेन्द्र माध्यमिक विद्यालयले सरस्वती पूजाका दिन अक्षरारम्भ कार्यक्रममा बालबालिकालाई सहभागी गराउने उद्देश्यले घरदैलो कार्यक्रम आयोजना गरेको छ । विद्यालयले शुक्रबार बालबालिकालाई लक्षित गर्दै अक्षरारम्भ कार्यक्रम अन्तर्गत करिब एक सय घरधुरीमा घरदैलो गरेको हो ।

सोमबार सरस्वती पूजाको दिन साना बालबालिकालाई अक्षरारम्भ गराएर निःशुल्क भर्ना गर्ने विद्यालयकी प्रधानाध्यापक देवकी सिग्देलले जानकारी दिनुभयो । स्वस्थ खाजा, व्यवस्थित खेलमैदान र कक्षाकोठा, निःशुल्क स्टेशनरी सामग्रीको व्यवस्था रहेकाले आफ्ना बालबालिकालाई सहभागी गराउन उहाँले अभिभावकलाई आग्रह गर्नुभएको छ । करिब २० बालबालिकालाई अक्षरारम्भ कार्यक्रममा सहभागी गराउने लक्ष्य रहेको उहाँको भनाइ छ ।

घरदैलोको क्रममा कतिपय अभिभावकले व्यस्तताका कारण महङ्गो शुल्क तिरेर निजी विद्यालयमा आफ्ना बालबालिका पढाउन बाध्य रहेको गुनासो गर्नुभएको छ । विद्यालयले आगामी शैक्षिक सत्रबाट बस सेवा सुरु गर्ने तयारी गरेको प्रधानाध्यापक सिग्देलले बताउनुभयो । हाल विद्यालयमा ६ सय ५९ विद्यार्थी अध्ययनरत छन् ।