सामूहिक बेलविवाह बारे जानकारी दिँदै आयोजक ।

हेटौँडा : भोलि आइतबार र पर्सी सोमबार बागमती प्रदेशको राजधानी हेटौँडामा सामूहिक वेलविवाह हुने भएको छ । इहि यज्ञ सुवर्णकुमार वेलविवाह गुठी हेटौँडाले हिजो शुक्रबार पत्रकार सम्मेलनमार्फत् ५३ औँ सुवर्णकुमार वेलविवाह हुने जनाएको हो । ७२ जना कन्याको सामूहिकरुपमा हेटौँडा–१० मा वेलविवाह गर्न लागिएको हो ।

नेवारी जातिकै ब्राह्मण, ब्राह्मणी, कर्माचार्य, जोशी, सेवाचार्य, प्रजापति र नापित गरी ७ जातीय पुजारीहरुद्वारा पूजा गरिने प्रचलन रहेको गुठीका अध्यक्ष हरिषचन्द्र श्रेष्ठले जानकारी दिनुभयो । २०४२ सालमा २ सय जना कन्याको सामूहिक वेलविवाह गरेको उहाँले बताउनुभयो । ती संख्याको तुलनामा यसवर्ष हुने सामूहिक वेलविवाहमा कम कन्या सहभागी हुनेछन् ।

२०२९ सालबाट काठमाडौं उपत्यकासहित अन्य जिल्लामा सामूहिकरुपमा वेलविवाह भइरहेको छ । हेटौंडाको गुठीमा २० सदस्य रहेका छन् । ती सदस्यहरुले आलोपालो गरेर सामूहिक वेलविवाह कार्यक्रम आयोजना गर्दै आएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । पत्रकार सम्मेलनमा भुवनलाल श्रेष्ठ, शंकरलाल श्रेष्ठ, शर्मिला श्रेष्ठलगायतको उपस्थिति रहेको थियोे ।