हेटौंडा: लायन्स क्लब अफ हेटौंडा स्मारकले कैलाश गाउँपालिकाको एक विद्यालयमा न्यानो कपडा सहयोग गरेको छ । कैलाश–७ स्थित कोथलिटार आधारभूत विद्यालयलाई न्यानो कपडा सहयोग गरेको हो ।
लायन्स क्लबले आफ्नो वार्षिक कार्यक्रम अनुसार अधिकांश विपन्न चेपाङ समुदायको विद्यार्थीका लागि स्वीटर सहयोग गरेको क्लबका अध्यक्ष अञ्जनप्रसाद पौडेलले जानकारी दिनुभएको छ । चिसो मौसमको समयमा विद्यार्थीलाई चिसोबाट बच्न र नियमित विद्यालयको पठनपाठनमा सहयोग र्पुयाउने उद्देश्यले विद्यालयमा अध्ययनरत १ सय ३४ जना विद्यार्थीलाई सहयोग गरेको उहाँले बताउनुभयो ।
लायन्स क्लबका सदस्य कमल अधिकारीको संयोजकत्वमा भएको स्वीटर वितरण कार्यक्रममा लायन्स क्लबका डिस्ट्रिक को–चिफ एड्भाइजर प्रल्हाद मिश्रको प्रमुख आतिथ्य रहेको थियो । मिश्रले लायन्स क्लबले सामाजिक क्षेत्रमा गरेको कामको उच्च प्रशंसा गर्दै यस्ता कार्यलाई निरन्तरता दिन अनुरोध गर्नुभएको छ ।