हेटौँडा ः हेटौँडा उपमहानगरपालिकाको वडा सदस्य नै हेटौँडा उपमहानगरपालिकाको हेटौँडा–१०, राप्ती नदि किनारमा रहेको डम्पिङ साइटको आगो निभाउन प्रशासन गुहार्न पुगेका छन् । नगरप्रमुख, उपप्रमुख र डम्पिङ साइट व्यवस्थापनको जिम्मा लिएको कम्पनिका अधिकारीले डम्पिङ साइटको आगो निभाउन चासो नदेखाएपछि अन्ततः प्रशासन गुहार्न पुगेको हेटौँडा–११ का वडा सदस्य विकास नेपालले बताउनुभएको छ ।
डम्पिङ साइटको फोहरमा आगो लागेर हेटौँडा बजार क्षेत्र नै प्रभावित बनेको, धुँवा नै धुँवा भएको विषयमा नगरप्रमुख, उपप्रमुख र डम्पिङ साइट व्यवस्थापन लिइरहेको कम्पनिका अधिकारीलाई जानकारी गराए पनि लामो समयसम्म काम नभएपछि प्रशासन गुहार्नु परेको वडा सदस्य नेपालको भनाइ छ । आइतबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा निवेदन लिएर गएपछि प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले प्रहरीमा निवेदन दर्ता गराउन भन्नुभएअनुसार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा निवेदन दर्ता गरेको वडा सदस्य नेपालले बताउनुभयो ।
प्रहरीले निवेदन दर्ता भएपछि प्रहरीले छलफलका लागि बोलाएको वडा सदस्य नेपालले जानकारी दिनुभएको छ । ‘वडा सदस्यको रुपमा पालिकामार्फत समस्या समाधानको प्रयास सफल नभएपछि नागरिकको रुपमा प्रशासन समक्ष निवेदन लिएर गएको थिएँ’, नेपालले समृद्ध समाजसँग भन्नुभयो, ‘प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले प्रहरीमा निवेदन दिन भन्नुभयो । सोहीअनुसार निवेदन दर्ता गराएको छु ।’