बालमैत्री वडा घोषणा गर्नुहुँदै नगरप्रमुख मीनाकुमारी लामा ।

हेटौँडा ः हेटौँडा–३ नम्बर वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ । ‘बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी’ भन्ने मूलनाराका साथ वडालाई आइतबार बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो ।

वडाध्यक्ष ढलक बहादुर थापाको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यमा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा कार्यक्रम भएको हो । नगरप्रमुख लामाले प्रतिवद्धतापत्रमा हस्ताक्षर गर्नुहुँदै वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्नुभयो । वडाध्यक्ष थापाले वडाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुहुँदै ५१ वटा सूचकहरुमध्ये ४९ वटा सूचकमा शतप्रतिशत, एउटा सूचकमा ९८ प्रतिशत र एउटा सूचकमा १५ प्रतिशत नतिजा हासिल गर्दै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको बताउनुभयो ।

घरधुरी सर्वेक्षण २०७९ अनुसार वडामा ६ हजार ४ सय ४३ जनसंख्या छ । जसमध्ये ३ हजार १ सय ९७ महिला, ३ हजार २ सय ४६ पुरुष छन् । बालक ७ सय ९३ र बालिका ७ सय ५ गरेर १ हजार ४ सय ९८ बालबालिका छन् । सामुदायिक र संस्थागत गरी बाल विकास केन्द्रसहितका ५ वटा विद्यालय सञ्चालनमा रहेको वडाध्यक्ष थापाले जानकारी दिनुभयो । यसैगरी १२ वटा बालसमूह र एउटा बाल सञ्जाल रहेको छ । जसमा २ सय बालबालिका आवद्ध रहेको र विभिन्न संरचनागत समितिमा समेत गरेर ३ सय ४१ जना बालबालिकाको प्रत्यक्ष सहभागिता रहेको उहाँले जानकारी दिनुभयो ।

२०७९ मंसिर १३ गते सरोकारवालाको उपस्थितिमा प्रतिवद्धतामा हस्ताक्षर गर्दै बालमैत्री वडा घोषणा अभियान सुरु गरिएको थियोे । हाल बालमैत्री स्थानीय शासन कार्यान्वयन तथा दिगोपना कायम गर्नका लागि अन्तिम सूचक मापनको प्रतिवेदन, स्थितिपत्र, पञ्चवर्षीय रणनीतिक योजना समेत तयार भइसकेको उहाँले जानकारी दिनुभयो । यस्तै विभिन्न क्षेत्रबाट बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणामा सहयोग पु¥याएको भन्दै विभिन्न संघसंस्था तथा व्यक्तिलाई प्रशंसापत्र प्रदान गरिएको छ ।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपाने, जनप्रतिनिधी, विद्यार्थी, शिक्षक लगायत विभिन्न संघसंस्थाको प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।