बहसमा सहभागी अगुवा महिलाहरु ।

हेटौँडाः अन्तर्राष्ट्रिय स्वयंसेवी संस्था लायन्स क्लब इन्टरनेशनलको आयोजनामा शनिबार हेटौँडामा महिला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनमा लायन्स क्लबको माध्यमबाट सेवामा समर्पित रहँदै विभिन्न बाधाहरु तोड्दै लायनवादको वृद्धि र विकासमा योगदान पुर्‍याउने ४ जना महिलालाई सम्मान गरिएको छ । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ जे को वर्ष २०२४/२५ की गभर्नर मिलन थापा, लियो मल्टिपल डिष्ट्रिक्ट काउन्सिलकी अध्यक्ष अस्मिता लामिछाने, लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ए को वर्ष २००४/०५ की अध्यक्ष सुष्मा शर्मा र लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एल को वर्ष २०२४/२५ की सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नर तारा भुषाललाई सम्मान गर्न गरिएको छ ।

हेटौंडा–२ स्थित पल्पसा प्याराडाइज होममा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघकी नवनिर्वाचित अध्यक्ष निर्मला शर्मा, दक्षिण एसियाकै पहिलो महिला फिफा रेफ्री कल्पना शर्मा, जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरकी अध्यक्ष कल्पना श्रेष्ठ, लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एस की प्रमुख सल्लाहकार ज्योति केसी र स्त्री तथा प्रसुती स्वास्थ्य विशेषज्ञ डा. सौजन्य कर्माचार्यले ‘बाधाहरु तोड्दै नेतृत्वमा महिला र यसको सामाजिक प्रभाव’ शीर्षक बहस गर्नुभएको थियो ।

बहसमा पत्रकारिता, खेलकुद, सहकारी, शिक्षा स्वास्थ्य जस्ता क्षेत्रमा स्थापित महिला नेतृत्वको विषयमा छलफल भएको थियो । बहसमा सहभागी वक्ताहरुले आफ्नो आफ्नो क्षेत्रमा भएका संघर्ष, महिला भएकै कारण भोगिएको समस्याहरू र समस्या तथा आइपरेका बाधाहरु छिचोलेर अगाडि बढेको विषय प्रस्तुत गर्नुभएको थियो । अब कसरी आफ्नो क्षेत्रलाई राम्रो बनाउन सकिन्छ र सबै क्षेत्रमा महिलाहरु को बाक्लो उपस्थिति कसरी बढाउन सकिन्छ भन्ने विषयमा जोड दिइएको थियो ।

पहिला नीति परिवर्तनमा जोड दिनुपर्ने र महिलाले जुन क्षेत्रमा काम गरेपनि निरन्तरताका साथ काम गर्नुपर्ने जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरकी अध्यक्ष कल्पना श्रेष्ठले बताउनुभयो । संविधानमा महिलाहरूको ३३ प्रतिशत सहभागिता सुनिश्चित गर्नुपर्ने उल्लेख भएपनि महिला उपलव्ध छैन भन्ने बहाना देखाएर ३३ प्रतिशत सहभागिता सुनिश्चित नगर्ने नभई संविधानको मर्म अनुसार काम गर्नुपर्नेमा उहाँले जोड दिनुभएको थियो ।

स्थापित महिला नेतृत्वको विषयमा बहस, विमर्श गर्ने गरी लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एस नेपालको आयोजनामा महिला सम्मेलन भएको हो । सम्मेलनमा अभिप्रेरणात्मक वक्ता मानसी अग्रवाल प्रमुख वक्ताको रुपमा रहनुभएको थियो । सम्मेलनमा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मिनकुमारी लामाको प्रमुख आतिथ्य रहेको थियो ।