हेटौंडाः हेटौंडा–४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयले शुक्रबार ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीलाई पुस्तक वितरण गरेको छ । नवोदय पुस्तकालयमा रहेको १ हजार पुस्तक सेवा गुठीलाई सहयोग गरेको पुस्तकालय शिक्षिका अन्जिता मिश्रले जानकारी दिनुभयो ।
वि.सं. २०४९ सालमा स्याङ्जा जिल्लाबाट ५० जना विद्यार्थी लिएर स्थापना भएको गैर नाफामूलक संस्था ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीले छोरीहरुलाई साहयता दिएर पढाइरहेको भन्ने जानकारी पायौँ । पुस्तकालयकी शिक्षिका मिश्रले भन्नुभयो–‘नवोदय विद्यालयले पनि बाह्य पुस्तक पढ्ने बानीको विकास गराउने उद्देश्यले संस्थालाई सहयोग गरेका हौँ ।’
संस्थाले अहिलेसम्म १८ जिल्लामा १३००० छोरी विद्यार्थीका लागि काम गरिरहेको छ । मकवानपुरमा भने १८०० विद्यार्थीहरुलाई पढाइरहेको छ । जोखिमबाट कसरी सुरक्षित राख्ने तथा आफूलाई साक्षरता बनाउने उद्देश्यले स्थापना भएको हो ।
कार्यक्रममा ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी मकवानपुरका कार्यक्रम संयोजक तजबीज गर्तौला, रामेछापका संयोजक उमेश नेपाल, विद्यालयका माध्यमिक शैक्षिक संयोजक सिएम रिमाल, प्रशासनिक प्रमुख सरदराज पाण्डे लगायतको रोहबरमा हस्ताक्षर गरी पुस्तक हस्तान्तरण गरिएको थियो ।