हेटौँडा ः बागमती प्रदेशसभा अधिवेशन माघ १८ गतेका लागि आव्हान गर्न सिफारिस गरिएको छ । शुक्रबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले माघ १८ गते बिहान ११ बजेका लागि प्रदेशसभाको १५ औं अधिवेशन बैठक आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको हो ।
मन्त्रिपरिषद्को सिफारिस अनुसार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेशसभा बैठक आव्हान गर्नुहुनेछ । गत असोज १६ गते राति १२ बजेबाट प्रदेशसभाको १४ औं अधिवेशन अन्त्य गरिएको थियो । त्यस्तै मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारी कामकाजी भाषा ऐन कार्यान्वयनको सन्दर्भमा अध्ययन कार्यदलले तयार गरेको प्रतिवेदन ग्रहण गर्ने तथा कार्यान्वयन गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिनुभएको छ । उहाँका अनुसार उक्त प्रतिवेदनका आधारमा प्रदेश कामकाजी भाषा ऐन कार्यान्वयनका लागि आवश्यक तयारी तथा व्यवस्थापन गर्न संस्कृति तथा पर्यटन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ । उक्त ऐनका व्यवस्था कार्यान्वयन गरी प्रदेश सरकारको मन्त्रालय, आयोग, बोर्ड तथा निकायका लेटर हेड, छाप तथा बोर्डहरुमा समावेश गर्न निर्देशन दिएको उहाँले बताउनुभयो ।
बैठकले संस्कृति तथा पर्यटन मन्त्रालयले आवश्यक कार्यविधी तयार गरी कर्मचारी व्यवस्थापन लगायतका काम गर्न निर्देशन दिएको मन्त्री लामिछानेले बताउनुभयो । बैठकले प्रदेश चलचित्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदशेसभामा पेश गर्ने निर्णय गरेको छ भने प्रदेश जग्गा एकीकरण सम्बन्धी विधेयक तर्जुमाका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ । प्रदेश भवन नीति २०८१ र अपाङ्गता भएका व्यक्ति सम्बन्धी प्रादेशिक नीति स्वीकृत गर्ने निर्णय पनि भएको छ ।