मकवानपुर बहुमुखी क्याम्पस ।

हेटौँडा ः हेटौँडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसले शैक्षिक सत्र २०८१/८२ अन्तर्गत कक्षा ११ मा अध्ययनरत ९५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । बिहीबार सहायक क्याम्पस प्रमुख संगम चौलागाईले छात्रवृत्तिसम्बन्धी सूचना जारी गर्नुभएको छ । मकवानपुर क्याम्पसले कुल भर्ना भएका विद्यार्थीको १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गर्न लागेको जनाउँदै विभिन्न ९ वटा वर्गमा छात्रवृत्ति आवेदन दिन सूचित गरेको छ ।

क्याम्पसले सबैभन्दा बढी जेहेन्दारतर्फ ३५ जना, गरिब तथा विपन्नतर्फ ३४ जना, आदिवासी जनजातितर्फ ९ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने जनाएको छ । यस्तै दलिततर्फ ५ जना, अपाङ्गता भएका ३ जना, ऐतिहासिक जनआन्दोलन र सशस्त्र संघर्षका घाइतेका सन्तती ३ जना, सहीद सन्तती, बेपत्ता परिवारका सन्तती र मधेश आन्दोलनका घाइतेका सन्तती २÷२ जनालाई छात्रवृत्ति प्रदान गर्ने उल्लेख गरेको छ । छात्रवृत्ति आवेदन दिने म्याद यही माघ ३० गतेसम्म राखिएको छ ।

सबै वर्गमा ५० प्रतिशत छात्रा कोटा र सोही अनुपातमा सामुदायिक विद्यालयका विद्यार्थी लाभान्वित हुने बताइएको छ । जनजाति, दलितको हकमा सम्बन्धित आयोग वा जिल्ला प्रशासन कार्यालयको सिफारिस आवश्यक रहनेछ । बेपत्ता परिवार, सहीद, जनआन्दोलनका घाइते, मधेश आन्दोलनका घाइतेको हकमा गृह मन्त्रालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिसपत्रको प्रतिलिपी समावेश गर्नुपर्नेछ ।

छात्रवृत्तिको लिखित परीक्षा समेत हुने छ । परीक्षा फागुन ३ गते बिहान ८ बजे हुनेछ । गत वर्ष मकवानपुर बहुमुखी क्याम्पसले एक सय १९ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको थियो । कक्षा–११ मा छात्रवृत्ति पाउने विद्यार्थीले कक्षा १२ मा पनि पूर्ण छात्रवृत्ति पाउने व्यवस्था रहेको सहायक क्याम्पस प्रमुख चौलागाईले बताउनुभयो । १२ कक्षामा छात्रवृत्ति निरन्तर प्राप्त गर्नका लागि भने कक्षा ११ को वार्षिक परीक्षामा उत्तीर्ण भएको हुनुपर्नेछ ।

कक्षा ११ र १२ मा विज्ञान संकायका विद्यार्थीले पूर्ण छात्रवृत्ति वापत ६५ हजार रुपैयाँ बचत गर्नेछ भने वाणिज्य संकाय अंग्रेजी माध्यमतर्फ ४० हजार चार सय ८० रुपैयाँ बचत गर्नेछ । यस्तै वाणिज्य संकाय नेपाली माध्यम, मानविकी र शिक्षाशास्त्र संकायका विद्यार्थीले २९ हजार दुई सय रुपैयाँ बचत गर्छन् । मकवानपुर बहुमुखी क्याम्पसमा कक्षा ११ मा विज्ञान, वाणिज्य, मानविकी र शिक्षाशास्त्र संकायमा पठनपाठन हुन्छ । विज्ञान संकाय दिवाकालिन मात्रै हुन्छ भने वाणिज्य संकाय विहानी र दिवा दुबै हुँदा मानविकी र शिक्षाशास्त्र संकाय भने बिहानी सत्रमा मात्रै हुन्छ ।