हेटौंडाः संस्थागत विद्यालयमा आइतबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) अभ्यास परीक्षामा ५ जना परिक्षार्थी अनुपस्थित भएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को केन्द्रीय परीक्षा तालिकाअनुसार मकवानपुरसहित देशभरका संस्थागत विद्यालयमा अभ्यास परीक्षा सुरु भएको हो ।
परीक्षामा मकवानपुर जिल्लाका ३८ वटा संस्थागत विद्यालयका एक हजार ३ सय १३ जना विद्यार्थी रहेकोमा ५ जना अनुपस्थित भएको प्याब्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीले जानकारी दिनुभयो ।
एसईई मापदण्डअनुसार सञ्चालन गरिने परीक्षामा बागमती प्रदेशमा एउटै प्रश्नपत्र रहेको सुवेदीले जानकारी दिनुभयो । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा भएको छ । मकवानपुरमा ९ वटा परीक्षा केन्द्र तोकिएको उहाँले बताउनुभयो । हेटौंडामा ६ वटा, थाहा नगरपालिकामा २ वटा र मनहरी गाउँपालिकामा एउटा परीक्षा केन्द्र तोकिएको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।
राष्ट्रिय परीक्षा बोर्डले आगामी चैत ७ गतेबाट एसईई परीक्षा सुरु गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरेसँगै एसईई अभ्यास परीक्षा सञ्चालन गरिएको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । परीक्षा माघ १५ गतेसम्म सञ्चालन हुनेछ ।