Home मुख्य समाचार चैतभित्र एमालेको पार्टी सदस्यता नवीकरण गरिने

चैतभित्र एमालेको पार्टी सदस्यता नवीकरण गरिने


हेटौंडाः नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी मकवानपुरले चैत महिनाभित्र पार्टी सदस्यता नवीकरण सम्पन्न गर्ने भएको छ । आइतबार नेकपा एमाले जिल्ला कमिटी मकवानपुरको कार्यालयमा बसेको चौथो पूर्ण बैठकले पार्टी सदस्यता नवीकरण चैत्र महिनाभित्र सम्पन्न गर्ने र चैत्र मसान्तभित्रै सबै पार्टी सदस्यहरुलाई अनलाइनमा ल्याउने निर्णय गरेको हो ।

एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलको अध्यक्षतामा बसेको बैठकले केन्द्रीय संगठन विभागको निर्णयअनुसार निर्णायक राष्ट्रिय शक्ति निर्माणको लागि माघ महिनादेखि चैतसम्म वडा केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । आधारभूत तहसम्म एमालेको कमिटी बनाउँदै सदस्यता विस्तार सँगसँगै संगठन अभियान सञ्चालन गर्ने निर्णय पार्टीको चौथो पूर्ण बैठकले गरेको अध्यक्ष पोखरेलले बताउनुभयो ।

एमाले पार्टी र नेतृत्वका विरुद्धका षड्यन्त्र र कुप्रचारको जमेर प्रतिवाद गर्दै पार्टी नीति, नेतृत्व र राजनैतिक कार्यदिशालाई जनताबीच स्थापित गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो । यही माघ ५ गते बैठक बसेर समय पुगेका सबै जनसंगठनको अधिवेशन तथा भेला सम्पन्न गर्ने उहाँले बताउनुभयो । पेशागत संगठनको बैठक बसेर ३ महिनाको अभियान सञ्चालन गरिने उहाँले बताउनुभयो ।

मकवानपुरको बागमती गाउँपालिकामा माघ ३ गते, बकैया, भीमफेदी र मकवानपुरगढी गाउँपालिकामा ४ गते, थाहा नगरपालिकामा ५ गते र कैलाशमा ६ गते पालिका कमिटीको बैठक राख्ने उहाँले बताउनुभयो । बैठक बसिसकेका विभागबाहेक बाँकी विभागहरुको बैठक माघ ५ गतेभित्र सम्पन्न गर्ने निर्णय गरेको बताइएको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन लक्षित कार्यक्रम जिल्लाव्यापी अभियान सञ्चालन गर्ने बताइएको छ ।

Exit mobile version